काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीको बयान लिन सुरु भएको छ ।
शुक्रबारबाट पक्राउ परेका १६ जनाको बयान लिन सुरु भएको हो । उनीहरुको काठमाडौं जिल्ला अदालतमा न्यायाधीशसमक्ष बयान लिइनेछ । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउन खोज्ने ३० जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षाविज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रुपैयाँ उठाइएको आरोप छ । प्रकरणमा १६ जना पक्राउ गरिएको छ ।
उनीहरूलाई अदालतमा बयान गराइनेछ । १४ जना भने अझै फरार छन् । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियहितविरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।
प्रहरीले ६० दिन अनुसन्धान गरेपछि मुद्दा अदालत पुगेको हो । यही प्रकरणमा संलग्न अन्यका बारेमा अनुसन्धान जारी छ भने सम्पत्ति सुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि प्रहरीले थप छानबिन गर्न आग्रह गरेको छ ।
अहिले पक्राउ परेकाहरुले न्यायाधीशसमक्ष बयान दिँदा कसैको नाम लिएमा उनीहरुलाई प्रमाणका रुपमा अदालतले झिकाउन सक्छ ।
पक्राउ परेकाहरुले प्रहरीलाई दिएको बयानमा थप केही व्यक्तिको नाम मुछिएको छ । उनीहरु यो प्रकरणमा संलग्न छन् या छैनन् भन्ने आधार खोजी भइरहेको छ । गृहमन्त्री स्वयंले कसैको नाम मुछिँदैमा पक्राउ गरिहाल्न नसकिने र आवश्यक प्रमाण जुटाउने काममा प्रहरी लागिरहेको बताइसकेका छन् ।