पोलमा हुकिङ लगाउने क्रममा करेन्ट लाग्दा कक्षा १० मा अध्ययनरत पेशलानन्दको मृत्यु

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
पोलमा हुकिङ लगाउने क्रममा करेन्ट लाग्दा कक्षा १० मा अध्ययनरत पेशलानन्दको मृत्यु

सप्तरी । सप्तरीमा कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ ।

राजविराजस्थितमा रहेको शिव इन्टरनेसनल बोर्डिङ स्कुलमा अध्ययनरत राजगढ गाउँपालिका १, झुटकीका लक्ष्मणप्रसाद यादवको १५ वर्षीय छोरा पेशलानन्दको करेन्ट लागेर मृत्यु भएको हो ।

विद्यालयले आयोजना गरेको क्रिकेट प्रतियोगितामा लाउडस्पिकर सञ्चालनका लागि विद्युतीय पोलमा हुकिङ लगाउन पेशलानन्दलाई शिक्षकले अह्राइएका थिए । पोलमा हुकिङ लगाउने क्रममा ११ हजार भोल्ट भएको विद्युतीय तारमा छोइँदा पेशलानन्दलाई करेन्ट लागेको थियो । करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

विद्यालय सञ्चालक नरेशप्रताप शाहले आफूहरुबाट लापरबाही भएको स्वीकार गरेका छन् । पेशलानन्दको शव अहिले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । विद्यार्थी तथा मृतकका आफन्तहरुले लापरबाही गर्ने विद्यालय सञ्चालकमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.