माथिल्लो हुम्लामा खच्चडकै भरमा ढुवानी (फोटो फिचर)

जेष्ठ ११, २०८० |जनकबहादुर शाही
माथिल्लो हुम्लामा खच्चडकै भरमा ढुवानी (फोटो फिचर)

हुम्ला । हालसम्म राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लाको माथिल्लो भेगमा खच्चडबाटै सामान ढुवानी गर्नुपर्ने बाध्यता अझै हटेको छैन । 

जिल्लाको मध्ये भेगमा रहेको सरिसल्लामा पुल नहुँदा यो समस्या यथावत छ । हुम्लाको दक्षिणी भेगमा रहेका सर्केगाड, ताँजाकोट, अदानचुली र चङ्खेली गरी  ४ वटा गाउँपालिका राष्ट्रिय सडक संजालसँग जोडिए पनि माथिल्लो भेगका ३ गाउँपालिका नाम्खा, सिमकोट र खार्पुनाथ नजोडिँदा अहिले दैनिक उपभोगका सामान देखि विकास निर्माणका सामान खच्चडमा ढुवानी गर्नु परेको हो ।

अन्य ४ गाउँपालिका जस्तै उत्तरी हुम्लाका ३ वटा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकामा राष्ट्रिय सडक सञ्जानले जोडेको भए यो सम्स्या नहुने स्थानियको भनाई छ । उत्तरी हुम्लामा सामान ढुवानीको भरपर्दो साधन खच्चड भएकाले यो पेसामा युवाहरुको रोजगारीको माध्यम बनेकाले हुम्लाका एक सयभन्दा बढी बेरोजगार युवा यो पेसामा लागिरहेका छन् ।

दक्षिणी हुम्लामा चार वटा ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिकाबाट खच्चडमा सामान ढुवानी गर्ने कार्य विस्थापित भए पनि उत्तरी हुम्लामा भने खच्चड नभए सामान ढुवानी गर्न कठिन हुने निर्माण व्यवसायी सरोज रावतले बताए । हवाइमार्गबाट सामान ढुवानी गर्दा प्रति केजि २ सय रुपैयाँ महँगो भाडा तिरेर ल्याउनु पर्ने बाध्यता छ । तर खच्चडमा सामान ढुवानी गर्दा जहाज भन्दा १ सय २० रुपैयाँ सस्तो पर्ने हुँदा व्यापारी, निर्माण व्यवसायी सबैले सामग्री ढुवानीमा खच्चडको प्रयोग हुने रावतले भने ।

हुम्ला जिल्लाका दक्षिणी क्षेत्रका गाउँपालिका सडक सञ्जालसँग नजोडिँदा जिल्लाभरि नै खच्चड सामान ढुवानीका भरपर्दो माध्यम रहेका थिए । तर, अहिले माथिल्लो हुम्ला विशेष गरी सर्केगाड–६ को ग्युसीदेखि सिमकोटसम्म सामान खच्चडमा ढुवानी हुँदै आउने गरेको छ । यसले गर्दा सामान पनि सस्तो र युवाका लागि रोजगारी पनि हुने भएकाले खच्चड व्यवसाय राम्रोसँग फस्टाएको लामो समय देखि सदरमुकाम सिमकोटमा पसल व्यवसाय गर्दै आएका खुमबहादुर रावतले बताए ।

पछिल्लो समय दैनिक डेढ सय खच्चडबाट सामान ढुवानी भएर आउने गरेको छ । कर्णाली करिडोरको ग्युसीदेखि लालीबगर क्षेत्रको ४ सय मिटर चट्टानी भाग र सल्लिसल्लामा पुल निर्माण पूरा भए खच्चड व्यवसायी विस्थापित हुने भएका छन । सो खण्डमा नेपाली सेनाले कर्णाली करिडोरको सडक निर्माण कार्य गरिरहेको छ ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।