कुँडार र करेसाखेतीको प्रचलन हराउँदै, गाउँघरमा पनि बजारकै तरकारी

जेष्ठ ११, २०८० |राजकृष्ण श्रेष्ठ
कुँडार र करेसाखेतीको प्रचलन हराउँदै, गाउँघरमा पनि बजारकै तरकारी

नुवाकोट । पछिल्लो समय नुवाकोटमा घरायसी प्रयोजनका लागि गरिने परम्परागत कुँडार तथा करेसाखेतीको प्रचलन हट्दै गएको छ । बसाइँसराइ र बढ्दो सहरीकरण तथा आधुनिकतासँगै कुँडार र करेसामा गरिने तरकारी खेतीको ठाउँ अहिले बगैँचाले लिन थालेको छ ।

ढुङ्गामाटोका परम्परागत घरको ठाउँ अहिले आधुनिक र सुविधासम्पन्न घर निर्माण गर्ने क्रम बढेसँगै घर सजावटको तौरतरिकामा पनि परिवर्तन हुन थालेको छ । घरगोठ, मलखाडी, कोठेबारीलाई विस्तारै मानिसले बिर्सिंदै जाँदा कङ्क्रिटका घर बनाउने र आँगनमा स्लेट र टायल बिछ्याउने आधुनिक जीवनशैली अपनाउँदा कुँडार र करेसाबारीलाई विस्थापन गरेर घर वरपरको खाली जमिन फूलबारी बनाउन थालिएको छ ।

कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख केशव खनाल करेसाबारी मासेर आँगन, करेसाबारीमा समेत सिमेन्टले ढलान गर्ने प्रवृत्ति बढेको जनाउँछन् । ‘हामी सहरमा आइसकेपछि पक्की घर बनाउँछौँ । धेरैजसो पूर्वाधारका कामहरु सडक बनेका छन् । ढल बनेका छन् । हाम्रो आँगन करेसाबारी सबैलाई हामीले ढुंगा लगाएर सिमेन्टले पार्केटिङ गरेका छौँ ।’ उनले भने ।

एक दशक अघिसम्म पनि सदरमुकाम विदुर र आसपासका गाउँमा कुँडार र करेसाबारीमा सागसब्जी लगाउने धेरै थिए । तर आधुनिक जीवनयापनको रहरमा सौन्दर्य र आकर्षणको लागि आँगन र घर छेउछाउका कुँडार र करेसाबारी मासिनेक्रम बढेको छ । अब घरमै उब्जिएका ताजा सागसब्जीको सट्टा बजारको विषादीयुक्त तरकारीमा भर पर्नुपर्ने अवस्था आएको छ ।

अखिल नेपाल किसान महासंघ नुवाकोटका अध्यक्ष रामहरि पाण्डे गाउँ घरमा खेती गर्ने परिपाटी हराउँदै गएको अनुभव सुनाउँछन् । उनले भने, ‘सबै सहर केन्द्रित हुन थाले । गाउँमा बस्नेहरुमा पनि काम गर्नेमा कमी हुन थाल्यो । त्यसले गर्दा बजारका विषादियुक्त तरकारी खानु पर्ने अवस्था बनेको छ ।’

भान्छा तथा घरभित्र र बाहिरबाट निस्कने सामान्य फोहोर एवम् प्राङ्गारिक मलको प्रयोग गरी साँझ बिहानको समय र श्रमको उपयोगमा हुने कुँडार तथा करेसाखेती हराउँदै गएपछि मानिसमा अतिरिक्त व्ययभार थपिएको छ । श्रम गर्ने बानी पनि हट्दै गएपछि यसले जनस्वास्थ्यमासमेत अप्रत्यक्ष प्रभाव पारेको छ ।

करेसाखेती हुन छोडेपछि स्थानीयस्तरमा सिजनअनुसार फल्ने चिचिन्डो, घिरौला, गोलभेडा, भन्टा, बोडी तथा हरिया सागसब्जी लसुन, प्याज, धनियाँ, चम्सुर, पालु्ङ्गोजस्ता ताजा कृषिउपज पाउन मुस्किल छ । निरोगी र दीर्घ जीवनको आधारसमेत मानिने अर्गानिक करेसाखेतीमा आएको ह्रासले आयात प्रतिस्थापन गर्ने सरकारी लक्ष्यसमेत प्रभावित बनेको छ । 


Image

राजकृष्ण श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नुवाकोट संवाददाता हुन् ।