आरजु राणा र मञ्जु खाणको विषयमा मिडिया ट्रायल भयो : प्रकाशशरण महत

जेष्ठ २, २०८० |कान्तिपुर टीभी संवाददाता
आरजु राणा र मञ्जु खाणको विषयमा मिडिया ट्रायल भयो : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसले आरजु राणा र मञ्जु खाणको विषयमा मिडिया ट्रायल भएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले आरोप प्रमाणित नभइ दोषी करार गर्ने काम भएको भन्दै आपत्ति जनाएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका राणा र खाणको अवस्था के हो ? भनेर पत्रकारले राखेको जिज्ञासामा प्रवक्ता महतले त्यसको प्रतिवाद गरेका हुन् ।

‘को कहाँ छन् ? कहाँ जानु भयो ? के गर्नु भयो भन्ने कुरामा पार्टीले फलो गर्ने कुरा भएन,’ उनले थपे, ‘अब जहाँसम्म यो मिडिया ट्रायल भइराख्या छ । सामाजिक सञ्जालको ट्रायल भइराख्या छ । डा.आरजु आफैँले प्रतिरक्षा गरिरहनु भएको छ । साइबर ब्यूरोमा गएर आफैँले यो चाहिँ नक्कली अडियो हो भनेर उजुरी दिनु भएको छ । यसको अनुसन्धान हुनु पर्‍यो भनेर उहाँले भनिरहनु भएको छ । मिडिया ट्रायल गरेर दोषी हो भने जस्तो गर्नु भएन नि ? त्यसकारण यसप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

अनुसन्धानका लागि उजुरी दिएको र उक्त अडियोबारे प्रमाणिकता नभइ आरोपित गर्न खोजिएको भन्दै प्रवक्ता महतले बचाउ गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.