महिलाले मात्रै तानेर इटिटोल पुर्‍याए मच्छिन्द्रनाथको रथ (तस्बिरहरू)

वैशाख २५, २०८० |कान्तिपुर टीभी संवाददाता
महिलाले मात्रै तानेर इटिटोल पुर्‍याए मच्छिन्द्रनाथको रथ (तस्बिरहरू)

काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा मानिने ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथ आज महिलाहरुले तानेका छन् ।

आज बिहान महिलाहरुको समूहले उक्त रथलाई लगनखेलबाट तानेर इटिटोलसम्म पु¥याएका छन् । मच्छिन्द्रनाथको रथ एक दिन महिलाले मात्रै तान्ने परम्परा छ ।

इटिटोल पुर्‍याइएको रथलाई अब साइत हेरेर जावलाखेल पुर्‍याइनेछ । साइत नजुरेसम्म उक्त रथ सोही स्थानमा राखिने छ ।

अघिल्लो दिन आइतबार जात्रा अन्तर्गत नैक्या लुइगु अर्थात रथको टुप्पोबाट नरिवल खसाइएको थियो । नरिवल खसालेको भोलिपल्ट बिहान सबेरै याकः मिसा भूजया भनी महिलाले मात्र रथलाई तानेर जात्रा मनाइने प्रचलन छ ।

मच्छिन्द्रनाथको धार्मिक विधिपूर्वक पूजाआजापछि रथ निर्माणमा संलग्न यँवालमध्ये ज्येष्ठ व्यक्ति रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ । नरिवललाई मच्छिन्द्रनाथको प्रसादको रुपमा लिइन्छ । ३२ हात अग्लो रथबाट खसालिएको नरिवल हातपार्न सक्नेलाई सुख शान्तिसँगै सन्तान प्राप्ति हुन्छ भने धार्मिक मान्यता छ ।

मच्छिन्द्रनाथको रथबाट नरिवल खसालेपछि थतिटोलमै रहेको मीननाथको रथबाट पनि नरिवल खसाल्ने चलन छ । नरिवल खसाल्नु अघि रथको चारैतिर योमरी प्रसादका रुपमा खसालिन्छ । यो दिनलाई पाटनवासीले उत्सवका रुपमा मनाउँछन् ।

नेपालकै सबैभन्दा लामो रथयात्राको रुपमा परिचित यो जात्रा करिब दुई महिनासम्म मनाइन्छ । मच्छिन्द्रनाथको रथयात्रा वैशाख ११ गते पुल्चोकबाट सुरु भएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.