रवि पक्राउ परेपछि सहकारी पीडित भन्छन्- रकम फिर्ताको आशा जाग्यो

कार्तिक ३, २०८१ |भुपाल गुरुङ
रवि पक्राउ परेपछि सहकारी पीडित भन्छन्- रकम फिर्ताको आशा जाग्यो

पोखरा । सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरी ल्याए सँगै पोखरामा दुई छुट्टा छुट्टै परिदृश्य देखिएका छन् । पोखराका सडकमा एकातर्फ लामिछानेको पक्राउ विरुद्ध रास्वपाका कार्यकर्ताहरुले प्रर्दशन थालेका छन् भने अर्को तर्फ सहकारी पीडितहरुले निष्पक्ष छानबिन गर्न दिनुपर्ने भन्दै खबरदारी गरेका छन् ।

पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई शुक्रबार काठमाडौंमा पक्राउ गरी पोखरा ल्याएपछि सूर्यदर्शन सहकारी पीडितहरु बिहानै जिल्ला प्रहरी कार्यालय कास्कीको परिसर पुगे । रास्वपाको प्रदर्शनले लामिछाने माथिको अनुसन्धान प्रभावित नहोस् भनेर पीडितहरु दिनभर जसो जिप्रका अगाडि बसेर खबरदारी गरिरहे । समूह मै पुगेका सहकारी पीडितहरुलाई स्थानीय प्रशासनले सुरक्षा चुनौती बढेको भन्दै प्रर्दशन गर्न दिएन । त्यति मात्र हैन प्रहरीले उनीहरुलाई ठूलो समूह बनाएर बस्न समेत दिएन । प्रहरीलाई छलेर जिप्रका परिसर मै बसेका सहकारी पीडितहरुले पक्राउ परेका व्यक्तिहरुमाथि निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताएका छन् ।

लामिछाने सेयर सदस्य एवं प्रबन्ध निर्देशक रहेका बेला सूर्यदर्शनसहित देशका पाँच सहकारीबाट ६५ करोड रुपैयाँ गैरकानुनी रुपमा टेलिभिजनमा लगानी गरेको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको थियो । जसमध्ये साढे पाँच करोड रुपैयाँ सूर्यदर्शन सहकारीबाट लगेको उल्लेख छ ।

सहकारीको रकम अवैधानिक रुपमा मिडियामा लगानी गरेको भन्दै गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक रविसहित सञ्चालकहरु जीबी राई, छविलाल जोशी, कुमार रम्तेललाई कारबाही सिफारिस गरेको थियो । सोही आधारमा रवि, छवि र कुमार रम्तेल पक्राउ परिसकेका छन् भने जीबी राई अझै फरार छन् ।

पछिल्लो क्रममा आरोपीहरु धमाधम पक्राउ पर्न थालेपछि पीडितहरुमा रकम फिर्ताको आशा जागेको बताएका छन् । उनीहरुले रकम हिनामिनामा जोडिएका र पक्राउ पर्न बाँकी सबैलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् ।

सूर्यदर्शन सहकारीका १८ हजार ७ सय जनाले बचत गर्न राखेको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ अपचलन गरेको मुद्दा अहिले जिल्ला अदालत कास्कीमा विचाराधीन छ । रकम अपलचन प्रकरणमा अहिलेसम्म ५८ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ तर प्रहरीले ९ जनालाई मात्र पक्राउ गर्न सकेको छ ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।