कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई आज अदालतमा पेस गरिँदै

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई आज अदालतमा पेस गरिँदै
Filephoto

पोखरा । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरी कास्की प्रहरीको हिरासतमा राखिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई आज अदालतमा पेस गरिने भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीको टोलीले शुक्रबार पक्राउ गरी पोखरा पुर्‍याइए पनि हिजो शनिबार परेकाले आजमात्र अदालत पेस गरिने भएको हो । उहाँविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा माग गर्ने तयारी प्रहरीको छ ।

म्याद थपपछि प्रहरीले उहाँविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ । जिल्ला अदालत कास्कीले शुक्रबार रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरिएका लामिछानेलाई शुक्रबार बिहान करिब पौने तीन बजे पोखरा पुर्‍याइएको हो । पोखरा पुर्‍याएलगत्तै उहाँलाई सिधै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको थियो । कास्की प्रहरीले जिम्मा लिएपछि हिरासतमा पुगेर उपाध्यक्षहरु स्वणिर्म वाग्ले र डीपी अर्यालय तथा लामिछानेपत्नी निकिता पौडेलले लामिछानेलाई भेटेका थिए ।

सूर्यदर्शनसहितका सहकारीको साढे ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्व प्रबन्धनिर्देशक लामिछानेलाई पक्राउ गरिएको हो । संसदीय छानबिन विशेष समितिले सहकारी बचत अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसपछि गत असोज ६ गते नै पक्राउ पर्नु भएका जोशी अहिले थुनामा हुनुहुन्छ । पक्राउ पर्नु भएका लामिछानेलाई उहाँका व्यावसायिक साझेदार जोशी पक्राउ परेको मितिले ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।

संसदीय समितिको प्रतिवेदनको परिच्छेद ८ मा सहकारी ठगी प्रकरण सहकारी ऐन २०७४, मुलुकी अपराध संहिताको किर्तेसम्बन्धी दफा, संगठित अपराध निवारण ऐन २०७० र सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ का कानुन आकर्षित हुने उल्लेख छ।

पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो । कम्पनीमा अध्यक्ष जीबी राई र प्रबन्ध निर्देशक लामिछाने थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.