मीनबहादुर गुरुङले एमालेलाई दान दिएको जग्गा कालु गुरुङको, को हुन् कालु गुरुङ ?

कार्तिक ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
मीनबहादुर गुरुङले एमालेलाई दान दिएको जग्गा कालु गुरुङको, को हुन् कालु गुरुङ ?

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका २ मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दान दिएको भनिएको १० रोपनी १४ आना जग्गाको चर्चा सकिएको छैन, बरु यसप्रति प्रश्न उठाउनेहरु बढिरहेका छन् । 

ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भएका विवादित व्यवसायी गुरुङले कुन स्वार्थले जग्गा दान दिए ? सत्तामै रहेको दलले त्यसरी व्यवसायीसँग जग्गा दानमा लिनुहुन्थ्यो कि हुन्थेन ? जस्ता विषयमा बहस भइरहेका छन् । आखिर त्यो १० रोपनी जग्गा कसको हो, जसले एमाले र त्यसका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीलाई विवादमा धकेल्यो ? हामीले यसबारे सोधीखोजी गरेका छौं ।

गत असोज २५ गते कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा ठूलै तामझामका साथ एमाले केन्द्रीय कार्यालयको भवन शिलान्यास गरियो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र भाटभटेनी सुपरमार्केटका सञ्चालकसमेत रहेका मीनबहादुर गुरुङले संयुक्त रुपमा शिलान्यास गरे ।

शिलान्यासपछि सञ्चारकर्मीहरुसँग एमाले महासचिव शंकर पोखरेलले मीनबहादुर गुरुङ र उहाँकी धर्मपत्नी सावित्री गुरुङले पार्टी कार्यालय बनाउन जग्गा दान दिएको बताउनुभएको थियो । गुरुङ दम्पत्तिले दान दिएको १० रोपनी १४ आना जग्गामा एमालेको अत्याधुनिक भवन निर्माण हुने पनि महासचिव पोखरेलले जानकारी दिनुभएको थियो ।

दान दिइएको भनिएको एमालेको नाममा आएको छैन । हामीले सोधखोज गर्दा थाहा लाग्यो- दान दिएर एमालेको मन जितेका स्वयं मीनबहादुर गुरुङकै नाममा पनि जग्गा छैन । अब प्रश्न उठ्छ, ओली र गुरुङले एमालेको कार्यालय भवनका लागि भनेर शिलान्यास गरेको जग्गा कसको हो ? आखिर व्यवसायी गुरुङले एमालेलाई कसको जग्गा दिनुभयो ? अनि एमालेले कसको जग्गामा पार्टी कार्यालय बनाउन आँट्यो ?

तस्बिरमा देखिएको जग्गा प्रधानमन्त्री ओली र व्यवसायी गुरुङले शिलान्यास गरेको स्थान हो । अर्थात् कीर्तिपुर नगरपालिका बडा-२ मैत्रीनगर । यो जग्गा आखिर कसको हो भनेर बुझ्न हामी कलंकी मालपोत कार्यालय पुग्यौं । नापी विभागको यो नक्सा अनुसार कित्ता नम्बर २५७ र २५८ को बीचमा शिलान्यास गरिएको छ । हाल यी दुबै कित्ता जग्गा रोड शो रियल स्टेट प्रालिको नाममा छन्, जसका अध्यक्ष हुन् कालु गुरुङ र संचालक श्रीमती मीना गुरुङ । 

योसहित ९ कित्ता जग्गा रोड शो रियल स्टेट कम्पनीले २०७७ सालमा वनवरीप्रसाद शाह, प्रमिला शाह र उध्येश्वर लाल श्रेष्ठसँग किनेको थियो, जसको कूल क्षेत्रफल करिब ४ रोपनी छ । यही जग्गा नेपाल क्रेडिट एन्ड कमर्स बैंकमा राखेर उक्त कम्पनीले १२ करोड ३२ लाख ऋणसमेत लिएको छ । अहिले यो जग्गा मालपोतले रोक्का राखेको छ । उसो भए कालु गुरुङको कम्पनी रोडसो रियल स्टेटको नाममा रहेको जग्गा मिनबहादुर गुरुङले कसरी आफ्नै भनेर नेकपा एमालेलाई दान दिए ? उनले जग्गामात्रै दिएका छैनन्, अत्याधुनिक भवनसमेत आफैले बनाइदिने भनेका छन् जसको हस्तान्तरणको मितिसमेत तोकिसकिएको छ ।

पहिला त प्रचारमा आएजस्तो १० रोपनी १४ आना जग्गा उक्त स्थानमा छैन । दोस्रो, कालु गुरुङको जग्गालाई मीनबहादुर गुरुङले आफ्नो नामको हो भनेर किन प्रचार गरे ? मैत्रीनगरमा रहेको कालु गुरुङको जग्गा मीनबहादुरलाई दिने र मीनबहादुरको भक्तपुरको दुवाकोटमा रहेको जग्गा कालु गुरुङलाइ दिने चर्चा पनि छन् । अब बाँकी रह्यो १० रोपनी १४ आना जग्गा कसरी जोहो हुन्छ ? सिलान्यास गरिएको स्थान वरपरका अन्य जग्गा पनि साटफेर गर्ने तयारी गुरुङको छ ।

त्यसबारेको कुरा पनि अन्तिम चरणमा पुगेको र नामसारी गर्न मात्रै बाँकी रहेको स्थानीयबासीले बताएका छन् । स्मरणीय छ, सरकारी दरअनुसार आनाको ७ लाख हाराहारी भए पनि बजार मूल्य अनुसार यो क्षेत्रमा प्रति आना ५० लाखभन्दा बढीमा जग्गाको कारोबार चल्ने गरेको स्थानीयको भनाइ छ ।

यहाँबाट भने एउटा गम्भीर प्रश्न खडा हुन्छ । मीनबहादुर गुरुङ र कालु गुरुङबीचको सम्बन्ध के हो ? मीनबहादुर गुरुङ, कालु गुरुङ र एमालेको सम्बन्ध के हो ? र, यो त्रिकोणात्मक सम्बन्ध र सम्बन्धभित्र लुकेको स्वार्थ के हो ? यस्ता धेरै प्रश्नको जवाफ आउन बाँकी छ ।

को हुन् कालु गुरुङ जसको नाममा एमालेलाई दान दिएको जग्गा छ ?

नेकपा एमालेको पार्टी मुख्यालय बनाउन मीनबहादुर गुरुङले दान दिएको जग्गा रोड शो कम्पनीको नाममा रहेको छ । यो कम्पनीका मालिक कालु गुरुङ को हुन् त भन्ने प्रश्न तपाईंको मनमा आउन सक्छ । घर जग्गा व्यवसायीका रुपमा चिनिएका कालु चर्चित युनिटी प्रकरणमा मुछिएर ९ करोड धरौटीमा छुटेका व्यक्ति हुन् ।

काठमाडौं, चितवन, महोत्तरी, कास्कीलगायत विभिन्न जिल्लामा घर जग्गाको कारोबार गर्ने कालु गुरुङ रोड शो रियल स्टेटका सञ्चालक समितिका अध्यक्ष हुन् । गुरुङ रोड शो सेक्युरिटिज शेयर ब्रोकर कम्पनी, माछापुछ्रे ब्रिक फ्याक्ट्री, पवित्रा इन्भेस्टमेन्ट, रन्जना ट्रेड सेन्टर, अकारा डेभलपर्स, सिटिजन्स बैंक इन्टरनेसनल र पोखरा फाइनान्सलगायतका कम्पनीमा समेत अध्यक्ष तथा निर्देशकको जिम्मेवारीमा छन् ।

त्योसँगै हाल पोखरामा रहेको अन्नपूर्ण केवलकारका लगानीकर्ता कालु गुरुङ व्यवसाय मात्रै होइन घर जग्गा प्रकरणसमेत पटकपटक चर्चामा आउने गरेका छन् । २०६७ सालमा युनिटी नेटवर्कको ठगी प्रकरणमा पक्राउ परेपछि उहाँ ९ करोड धरौटीमा रिहा हुनुभएको थियो । 

उक्त प्रकरणमा ललितपुर जिल्ला अदालतले २०७० चैतमा कालु गुरुङलाई सफाई दिँदै अन्य १२ सञ्चालकलाई दोषी ठहर गरेको थियो । यता उच्च अदालत पाटनले २०७४ मंसिरमा सबैलाई सफाइ दियो । २०७४ चैतमा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको मुद्दा अहिलेसम्म ५२ पटक पेसी चढे पनि अन्तिम टुंगो लागेको छैन ।

पछिल्लो पटक २०८० साल पुस २६ मा न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले विपक्षी झिकाउने आदेश गरेयता साधारण तारेखमा राखिएको मुद्दाको आगामी तारेख कात्तिक २८ लाई तोकिएको छ । घर जग्गाकै व्यवसाय गर्ने कालु गुरुङका धेरै प्रकरण मध्ये पशुपति महास्थान गुठीको जग्गा प्रकरण अर्को पनि एक हो ।

२०६७ साल पुस २९ मा बूढानीलकण्ठ–२ मा रोड शो इन्भेस्टमेन्ट कम्पनीको नाममा किनेको २ कित्ता जग्गा व्यक्तिको रैकर बनाउन नपाउने भनि पशुपति महास्नान गुठीकै हुने सर्वोच्चको फैसला भएको थियो । उक्त फैसलाविरुद्ध कालु गुरुङसहित करिब २ सय व्यक्तिले सर्वोच्चमा दिएको पुनरावलोकन निवेदनको समेत अन्तिम टुंगो लागेको छैन । अहिले नेकपा एमालेको पार्टी कार्यालय बनाउने भनिएको जग्गा कालु गुरुङकै भेटिनु संयोग मात्रै पक्कै देखिँदैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.