हिरासतमा रहेका रविमाथिको अनुसन्धान कसरी अगाडि बढ्ला ?

कार्तिक ३, २०८१ |दीपक आचार्य
हिरासतमा रहेका रविमाथिको अनुसन्धान कसरी अगाडि बढ्ला ?

काठमाडौं । सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत् हिनामिना गरेको आरोप लागेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । बहालवाला सांसदसमेत रहेका लामिछानेको अनुसन्धान प्रक्रिया कसरी अगाडि बढ्छ ? उहाँको सांसद पद के हुन्छ ? उहाँसँगै पक्राउ पुर्जी जारी भएकाहरुलाई के गरिन्छ ?

शुक्रबार साँझ पक्राउ पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगीका साथै संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान प्रक्रिया अगाडि बढाउने प्रहरीको तयारी छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आइतबार अदालतमा पेश गरिनेछ भने तीन वटै कसुरमा छानविनका लागि म्याद थपको माग गरिनेछ । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयलाई बयान र अभियोगपत्र बुझाउने समयसम्म यो प्रक्रिया दोहोरिरहन सक्छ । संगठित अपराधमा पनि अनुसन्धान हुने भएकाले ६० दिनसम्म थुनामा राख्न सक्ने कानुनी व्यवस्था छ । तर यो अवधिभित्र अभियोजनको प्रक्रिया भने अगाडि बढाउनुपर्ने हुन्छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग दाबीसहित जिल्ला अदालतमा पेश गर्ने छ । त्यसपछि थुनछेकको बहस र बयान गरिनेछ । दुवै पक्षबाट हुने बहसपछि थुनामा पठाउने कि धरौटीमा रिहा हुने भन्ने निर्णय अदालतले गर्नेछ र मुद्दाको किनारा लाग्ने गरी अगाडि बढ्ने हुन्छ ।

सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पोखरा प्रहरीकै हिरासतमा रहेका रविका व्यावसायिक साझेदार छविलाल जोशीलाई पनि अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले थप २० दिन हिरासतमै राख्न अनुमति दिएको छ । लामो समयदेखि विवादमा रहँदै आएका रास्वपा सभापति लामिछानेलार्ई संसदीय छानविन विशेष समितिले गरेको कारबाहीको सिफारिस, पोखरा महानगरको अध्ययन प्रतिवेदन र वचतकर्ताको उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । लामिछाने आफूलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको आरोप लगाउनुभएको छ ।

तर उहाँ गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेकै समयमा सहकारीबाट आएको अधिकांश रकम खर्च गरिएको छ । शुक्रवार रविसहित अन्य १४ जनालाई समेत पक्राउ पुर्जी जारी गरिएको छ । उनीहरुको हकमा के गर्दै छ प्रहरी ?

प्रतिनिधि सभामा सदस्य समेत रहेका लामिछानेको पक्राउबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकिएको छ । सहकारी ठगीमा आरोपित लामिछाने प्रहरी हिरासतमा रहे पनि निलम्बनमा पर्ने छैनन् । तर अदालतमा मुद्दा दर्ता भएपछि उहाँलार्ई थुनामै राखेर मुद्दा अगाडि बढाउने आदेश भएमा भने निलम्बनमा पर्ने अवस्था बन्नेछ । कसुर प्रमाणित भएमा उहाँको सांसद पद खोसिनेछ । यसकारण हाल प्रहरीले अगाडि बढाएको अनुसन्धानका विषयले उहाँको राजनीतिक भविष्यप्रति नै अन्योलको स्थिति देखाएको छ ।

सञ्चार क्षेत्र हुँदै राजनीतिमा प्रवेश गरेका लामिछाने विगतदेखि नै विवादित रहँदै आउनुभएका लामिछानेले दोहोरो नागरिकताको विवादका कारण सांसद पद गुमाउनुभएको थियो । पछि चितवन क्षेत्र नम्बर दुईको उपनिर्वाचनमा उहाँ पुनः निर्वाचित हुनुभयो । हाल उहाँमाथि पोखराबाहेक चितवन र बुटवललगायतका सहकारीबाट गोर्खा मिडियामा आएको रकम हिनामिना गरेको विषयमा समेत अनुसन्धान हुने स्थिति छ । अहिले राजनीतिक प्रतिशोध भन्दै कार्यकर्तालाई प्रतिवाद गर्न आग्रह गर्नुभएका लामिछानेले साँच्चिकै नयाँ धारबाट राजनीति अगाडि बढाउन चाहनुभएको हो भने न्यायिक परीक्षण हुने विषयमा सहयोगी बन्दै परिणामको प्रतिक्षामा बस्नुबाहेकको विकल्प देखिँदैन ।


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।