आगजनीबाट हुने क्षति रोक्न स्थानीय सरकारको पूर्वतयारी शून्य

वैशाख १२, २०८० |विकास ठाकुर
आगजनीबाट हुने क्षति रोक्न स्थानीय सरकारको पूर्वतयारी शून्य

महोत्तरी । आगजनीबाट बर्सेनि महोत्तरीका विभिन्न स्थानीय तहमा मानवीय तथा भौतिक क्षति भए पनि स्थानीय सरकारहरुको पूर्वतयारी भने शून्य छ ।

आर्थिक वर्ष ०७८/७९ मा आगलागीका कारण सातजनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । २१३ परिवार पीडित भएका छन् भने १० वटा पक्की घर, १९ वटा कच्ची घर र ४० वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले महात्तरीले जनाएको छ । गत आर्थिक वर्षमा आगजनीबाट एक करोड २१ लाख ५० हजार रुपैयाँबराबरको क्षति भएको छ । तर पनि क्षति न्यूनीकरणका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबाट सावधानी अपनाइएको छैन ।

सुक्खा मौसम सुरु भएपछि महोत्तरीको सोनमा, मनरासिसवा, जलेश्वर र मटिहानी नगरपालिकामा आगजनीका चारवटा घटना भएका छन् । तर पनि अधिकांश स्थानीय तहले वारुण यन्त्रसमेत किन्न सकेका छैनन् । रहेको वारुणयन्त्र बिग्रिएको अवस्थामा छ । महोत्तरीको १५ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहसँग मात्र आफ्नो वारुण यन्त्र छन् । दुईवटा सशस्त्र प्रहरीसँग छन् । ११ वटा स्थानीय तहले वारुणयन्त्र खरिदका लागि चासो देखाएको छैन ।


Image

विकास ठाकुर

ठाकुर कान्तिपुर टीभीका महोत्तरी संवाददाता हुन् ।