राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३०औं स्मृति दिवस मनाइयो

वैशाख १०, २०८० |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३०औं स्मृति दिवस मनाइयो

काठमाडौं । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३०औं स्मृति दिवस मनाइएको छ ।

काठमाडौंसहित देशभरका विभिन्न स्थानमा आइतबार ३०औं पासाङ ल्हामु स्मृति दिवस मनाइएको हो । काठमाडौंको चुच्चेपाटीस्थित पासाङ ल्हामु शेर्पाको सालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी स्मृति दिवस मनाइएको हो । स्मृति दिवसका अवसरमा पासाङ ल्हामु प्रतिष्ठानकी अध्यक्षसमेत रहेकी शेर्पाकी छोरी आङ फुटी शेर्पाले सालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै संसारभरका महिलाका लागि पासाङ ल्हामु प्रेरणाको स्रोत भएको जनाइन् ।

उनले फाउन्डेसनका तर्फबाट पनि हिमाल आरोहणको चाहना राख्ने महिलालाई आवश्यक सहयोग गरिरहेको र राज्यले पनि यस्ता सहयोगका कार्यमा थप अग्रसरता देखाउन आवश्यक रहेको धारणा राखिन् । सरकारले देशमै हिमाल आरोहीलाई सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

‘उहाँले संसारभरका महिलालाई सहासरुपी प्रेरणा दिनुभएको थियो । हामीले हिमाल आरोहणमा चाहना गर्ने महिलालाई फाउन्डेसनका तर्फबाट सहयोग गरिरहेका छौं । राज्यले पनि त्यसमा अझै सहयोग गरिदिनुपर्छ, जो महिलाहरु चाहना राख्नुहुन्छ तर विविध कारणवश हिमाल आरोहणलगायत गतिविधि गर्न सकिरहनुभएको छैन, उहाँहरुलाई राज्यले हेर्नुपर्छ । आरोहीहरुलाई बाहिर देशमा सम्मान होइन, आफ्नै देशमा सम्मान गर्न सक्नुपर्छ,’ उनले भनिन् ।

त्यस्तै पासाङ ल्हामु प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष लाक्पा फुटी शेर्पाले पासाङ ल्हामु शेर्पाका सपनाहरु आज आएर साकार भइरहेको देख्न पाउँदा खुसी लागेको धारणा राखिन् । उनले पासाङ ल्हामु शेर्पाले देशका लागि केही गर्छु भन्ने भोक रहेको र उहाँको आत्मविश्वासलाई देखेर नै आजका महिलाहरुमा थप काम गर्ने इच्छा, चाहना र प्रेरणा प्राप्त भइरहेको जनाइन् ।

त्यस्तै पूर्वमन्त्री कृपाशूर शेर्पाले पासाङ ल्हामु शेर्पाको स्मृति दिवस इज्जत, प्रतिष्ठा र गौरवको रुपमा मनाइएको धारणा राखे । ‘साहसी पर्यटन प्रवर्द्धनको क्षेत्रमा नेपाली नारीले विश्व रेकर्ड जुन कायम गर्नुभएको छ, यसमा इज्जत, प्रतिष्ठा र गौरवको दिनमा आजको दिन मनाउने गरिएको छ । यसले नयाँ पुस्तालाई उत्साह, जोश जाँगर प्रदान गर्छ ।’

त्यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले पासाङ ल्हामु शेर्पाको कदरका लागि गाउँपालिकामा संग्रहालय बनाउन लागेको जानकारी दिए ।

पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला हुन् । उनले २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । त्योभन्दा पहिला तीन पटकसम्म सगरमाथा चढ्ने प्रयास असफल भयाको थियो । सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसँग फर्कने क्रममा उनको निधन भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement