
काठमाडौं । केही वर्षयता नागरिकता र सरकारी कागजातको दुरुपयोग गरेर हुने आपराधिक घटना बढ्न थालेपछि अनुसन्धान पनि जटिल हुने गरेको छ ।
पछिल्ला पाँच वर्षमा नागरिकता दुरुपयोग र सरकारी कागजात किर्ते गरेको अभियोगमा १३ सय १८ जना पक्राउ परेका छन् । ३ वर्षसम्म कैद सजाय हुनसक्ने कसुर भएकाले प्रहरीले यसका लागि आरोपीलाई पक्राउ गरेरै कारबाही अगाडि बढाउने गरेको छ ।
नक्कली बाबु खडा गरेर तिब्बतीलाई नागरिकता दिन भूमिका खेलेका सरकारी कर्मचारीलाई नै पक्राउ गरेर कारबाही अगाडि बढाएको प्रहरीले गलत व्यक्तिलाई भुटानी शरणार्थी बनाउन खोज्नेमाथि पनि अनुसन्धान गरिरहेको छ । गलत व्यक्तिको नागरिकता तथा राहदानीको दुरुपयोग गर्नेबाट हुने अपराध रोक्न चुनौती देखिएको छ ।
देशभरका कारागारमा रहेका २७ हजार कैदीबन्दीमध्ये १ सय ३४ जनामाथि नागरिकताको दुरुपयोग र सरकारी कागजात किर्ते गरेको अभियोग छ ।
