मौलिकता गुमाउँदै रुकुम पूर्व, मासिँदै पुराना घर

चैत्र १८, २०७९ |महेश केसी
मौलिकता गुमाउँदै रुकुम पूर्व, मासिँदै पुराना घर

रुकुम पूर्व । रुकुम पूर्वको हिमाली भेगमा रहेका परम्परागत मौलिक घरहरूले जो कोहीको मन लोभ्याउँछ । तर गाउँमा विकास पुगेसँगै ढुङ्गा, माटो र काठले बनेका यस्ता मौलिक घरको संरक्षणमा भने चुनौती थपिएको छ ।

ढुङ्गै-ढुङ्गाको फुक्का गारो, बिच्च-बिच्चमा काठ अनि कमेरो माटोलाई पिटेर बनाइएका बलिया छतसहितका दुई तल्ले मौलिक घर । भुँइतलामा पशु-चौपाया थुन्ने र माथिल्लो तला आवास अनि छतमा छन् मकै राखिएका ढोक्राहरू । यस्तै एकनासे घरले सजिएका छन् हिमाली जिल्ला रुकुम पूर्वका अधिकांश गाउँ ।

गाईबस्तु बाँध्ने भुाइतलालाई मगरखाम भाषामा अर्बुं, माथिल्लो तलालाई अर्मीबास र छतलाई गगलाँ भनिन्छ । गगलाँमा राखिएको मौलिक भकारी ढोक्रा हो । यसमा बर्खे खेती खास गरी मकै राखिन्छ । पुथा उत्तरगंगा र भुमे गाउँपालिकाका अधिकांश गाउँमा यस्तै घरहरू पाइन्छन् ।

पछिल्लो समय घर बनाउँदा जस्तापाता, इँटा र सिमेन्टको प्रयोग हुन थालेपछि यस्ता घरहरू लोप हुने हुन् कि भन्ने चिन्ता बढ्न थालेको छ ।

परम्परागत घरको संरक्षण गरेर मौलिकता बचाउन सरकारी प्रयास जरुरी छ । घर बनाउँदा, सिमेन्ट र कङ्क्रिटको प्रयोगलाई निरुत्साहित गर्दै मौलिक शैली कायम राख्न स्थानीय सरकारले पनि उत्तिकै भूमिका खेल्न आवश्यक छ ।

रुकुम पूर्व बहुसङ्ख्यक मगरखाम भाषी भएको जिल्ला हो । यहाँका बासिन्दाको जीवनशैली, भाषा र मौलिक कला संस्कृति उनीहरूको पहिचान मात्रै नभएर पर्यटनको आधार पनि हो । यसको संरक्षण, संवर्द्धन तथा प्रचार-प्रसार गर्न सके यहाँका बासिन्दाको जीवनस्तर सुधारमा पनि टेवा पुग्ने देखिन्छ ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।