१० वर्षमा नेपाली महिलाको अवस्थामा उल्लेख्य सुधार, सूचक सकारात्मक देखिए पनि परनिर्भरता घटेन (रिपोर्ट)

चैत्र १७, २०७९ |किरण अधिकारी|सुबिन्द्र श्रेष्ठ
१० वर्षमा नेपाली महिलाको अवस्थामा उल्लेख्य सुधार, सूचक सकारात्मक देखिए पनि परनिर्भरता घटेन (रिपोर्ट)

काठमाडौं । जनगणना २०७८ को तथ्यांकले पछिल्लो एक दशकमा महिलाहरुको आर्थिक र सामाजिक स्थितिमा संख्यात्मक सुधार आएको देखाउँछ । साक्षरता, पूर्वाधारमा पहुँच र मातृमृत्युदरको सुधार देखिए पनि महिलाहरुको आर्थिक क्रियाकलापमा भने परनिर्भरता कायमै रहेको छ ।

शासकीय स्वरुप र राज्यको पुनर्संरचनापछि राजनीतिमा महिलाको सक्रियता उल्लेख्य रुपमा देखिएको छ । तीन तहको संरचनामा वडा सदस्य, पालिका उपाध्यक्ष र अध्यक्षदेखि ३३ प्रतिशत महिला सहभागितालाई संविधानले सुनिश्चित गरेपछि महिलाको उपस्थिति संख्यात्मक रुपमा बढेको पनि छ ।

यही दशकमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधान्यायधीश सुशीला कार्की र सभामुख ओनसरी घर्तीले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । पछिल्लो जनगणना २०७८ को तथ्यांकले पनि महिलाको आर्थिक, सामाजिक क्षेत्रमा पहुँच विस्तारसँगै सुधारको अवस्थालाई देखाएको छ ।

खानेपानीको सुविधा पाउने १० प्रतिशतले वृद्धि भई ५७‍ प्रतिशत पुगेको छ । यस्तै खाना पकाउन ग्यास बाल्ने दोब्बर भन्दा बढीले वृद्धि हुँदा दाउरा बाल्ने ५१ प्रतिशतमा सीमित भएको छ । बिजुली प्रयोग गर्ने परिवारको संख्या पनि २०६८ को तुलनामा २४ प्रतिशतले बढेको छ ।

यसले ३२ दशमलव ४ प्रतिशतले घरधन्दा र ९ दशमलव ८ प्रतिशत पारिवारिक हेरचाहमा व्यस्त महिलालाई धेरै सहयोग पुगेको देखिन्छ । तर जीवनस्तरमा सुधार देखिने पारिवारिक विवरणका अलावा महिलाहरुको आर्थिक क्रियाकलापमा भने सक्रियता बढेको देखिन्न । अझै ३८ दशमलव ३ प्रतिशत महिला आर्थिक काममा सक्रिय नै छैनन् ।

महिलाको नाममा घर जग्गा दर्ता गर्ने उल्लेख्य रुपमा नबढे पनि महिला परिवारमूली भने ३१ दशमलव ५५ प्रतिशतले बढेका छन् । यस्तै महिला साक्षरतादर ६९ दशमलव ४ प्रतिशत पुगेको छ जब कि २०६८ मा ५७ दशमलव ४ प्रतिशत थियो । गर्भावस्थासँग सम्बन्धित मृत्यु ६५३ पुगेको छ मातृ मृत्यु ६२२ देखिन्छ ।

यता एक लाख आमा बन्ने महिला मध्ये औसतमा मातृमृत्युदर १५१ जनामा सीमित हुनुले मृत्युदर घटेको तथ्यांकले देखाउँछ । तर अझै पनि १८ वर्ष भन्दा कम उमेरमा विवाह गर्ने २९ प्रतिशतभन्दा बढी रहेकाले चुनौती कम भएको छैन ।

विदेशमा श्रमका लागि बाहिरिनेको संख्यासँगै रेमिट्यान्स भित्रिने क्रमले नेपाली परिवारको आयस्तामा केही सुधार पक्कै देखिएको छ । जनगणनाले काम गर्न विदेशिने महिलाको ३ लाख ९० हजारले बढेको देखाएको छ, जसले अर्थोपार्जनमा परनिर्भरताका साथै महिलाले देशभित्रै पर्याप्त रोजगारीको अवसर पाउन नसकेको स्पष्ट हुन्छ ।


Image

किरण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।