एमसीसी परियोजना सफल कार्यान्वयन नभए अन्तर्राष्ट्रिय विश्वास गुम्ने चिन्ता (भिडियो)

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
एमसीसी परियोजना सफल कार्यान्वयन नभए अन्तर्राष्ट्रिय विश्वास गुम्ने चिन्ता (भिडियो)

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुले जलविद्युत तथा सडक आयोजनामा काम गरिरहेको–मिलेनियम च्यालेञ्ज कर्पोरेसन–एमसीसी परियोजना सफल कार्यान्वयन गरेर अन्तर्राष्ट्रिय विश्वास जित्नु पर्ने सुझाव दिएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसदहरुले समयमा काम गर्न नसके अन्तर्राष्ट्रिय तहमै नेपालको क्षमतामाथि प्रश्न उठ्ने र एमसीसीले हात झिक्ने भएकाले अन्य गौरवका आयोजनामा जस्तो हेलचेक्रयाइँ नगर्न सुझाव दिए ।

सदस्यहरुले वन, वातावरण, मुआब्जा जस्ता विषयमा स्थानीय सरकारले सहजीकरण गर्नुपर्ने उल्लेख गरे । यता एमसीए नेपालले पनि आयोजना क्षेत्रका केही स्थानीय सरकारबाटै पर्याप्त सहयोग पाउन नसकेको गुनासो गरेको छ । प्रसारण लाईन र सव स्टेशन पर्ने मकवानपुरको हटियामा वर्षोदेखिको अवरोध सुल्झाउन नसकिएको, लप्सीफेदी सबस्टेसन बनाउन स्थानीय जनप्रतिनिधिबाटै अवरोध भइरहेको, नुवाकोटको बेलकोटगढी नगरपालिकाले विभिन्न माग राखी असहयोग गरिरहेको एमसीए नेपालले जनाएको छ ।

एक वर्ष अघि संसद्ले अनुमोदन गरेको परियोजनामा हालसम्म ५ अर्ब १७ करोड रुपैयाँ खर्च भइसकेको एमसीए नेपालले जनाएको छ । जग्गा अधिग्रहण, ट्रान्समिसन लाइन, सडक ईन्जिनियरिङ तथा ल्याव उपकरण खरिदमा रकम खर्चिएको हो । त्यस्तै आयोजना स्थलमा पर्ने २ लाखभन्दा धेरै रुख कटानका लागि लगत स‌ंकलन भएको जनाइएको छ । एमसीए नेपालअन्तर्गतको विद्युत प्रसारण आयोजनाले करिब ३१५ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइनका साथै तीन वटा नयाँ विद्युत सब स्टेशन निर्माण गर्नेछ । त्यस्तै नयाँ प्रविधिमा पूर्व पश्चिम लोकमार्गकेा धानखोला देखि लमहीसम्म सडक मर्मत गरिने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.