बाजुराको बुढीनन्दा क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

चैत्र ५, २०७९ |प्रेम रौले
बाजुराको बुढीनन्दा क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

बाजुरा । बाजुराको बुढिनन्दा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ ।

आइतबार दिउसो तीन दलीय विद्यार्थी सङ्गठन र अनेरास्ववियुबीच झडप भएपछि त्यहाँ भइरहेको स्ववियुको निर्वाचन रोकिएको थियो । निर्वाचन पुन: सञ्चालनका लागि सर्वदलीय बैठक बसे पनि सहमति नजुटेपछि अर्को सूचना प्रकाशन नहुन्जेलसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको निर्वाचन अधिकृत जयदेव देवकोटाले जानकारी दिए ।

त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पसका रूपमा रहेको उक्त क्याम्पसको मतदानका क्रममा झडप हुँदा तनावग्रस्त स्थिति भएकाले निर्वाचन प्रक्रिया रद्द गरिएको मतदान अधिकृत देवकोटाको भनाइ छ । बुढिनन्दामा बिहान ८:०० बजेबाट मतदान कार्य सुरु भएको हो । मतदानका क्रममा दिउँसो साढे दुई बजे झडप भएपछि निर्वाचन नै रोक्नु पर्ने बाध्यता भएको देवकोटाको तर्क छ ।

क्याम्पसका ४१२ जना विद्यार्थीहरूको नाम मतदाता नामावलीमा छ । झडप नहुँदासम्म २५३ मत खसिसकेका थिए । तर झडपका कारण अवस्था अनियन्त्रित बनेपछि प्रहरीले ३२ राउन्ड हवाई फायर गरेको थियो । इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी निरीक्षक सुरजबहादुर सिंहका अनुसार  चार पटक झडप हुँदा चारै पटक हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिइएको हो । 

चुनाव स्थगन भएपछि कोल्टी बजारमा सुरक्षाकर्मी परिचालित छन् र त्यहाँको सुरक्षा व्यवस्था कडाइ पारिएको छ ।


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।