मन्त्रीको हतारले मालपोत कार्यालयको उद्घाटन, ७ महिना पुग्दा पनि सञ्चालनमा आएन (भिडियो रिपोर्ट)

चैत्र ४, २०७९ |रमेश ठाकुर
मन्त्रीको हतारले मालपोत कार्यालयको उद्घाटन, ७ महिना पुग्दा पनि सञ्चालनमा आएन (भिडियो रिपोर्ट)

बारा । बाराको सिम्रौनगढमा गत भदौ १५ गते मालपोत कार्यालयको उद्घाटन भएपनि अहिलेसम्म कामकाज सुरु भएको छैन । घरदैलो मै सेवा दिन स्थापना गरिएको कार्यालय लामो समयसम्म सञ्चालन नहुँदा सानो कामका लागि पनि घण्टौँ हिँडेर सदरमुकाम धाउनुपर्ने सेवाग्राहीको बाध्यता छ ।

साविकका २८ वटा गाविसका स्थानीयलाई जग्गा सम्बन्धी काममा छिटो छरितो सेवा दिन २०७२ सालमा बाराको सिम्रौनगढमा मालपोत कार्यालय स्थापना भएको थियो । त्यसको सात वर्षपछि मात्र कार्यालय तयार भयो । तत्कालीन भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कार्यालयको उद्घाटन गरिन् । तर उद्घाटनको सात महिना बितिसक्यो । अहिलेसम्म कार्यालय सञ्चालनमा आएको छैन ।

पटक-पटक विभिन्न विवादका कारण सात वर्षसम्म सञ्चालनमा आउन नसकेको कार्यालयमा अहिले पनि विवाद देखिएको छ । यस कार्यालयमा गाभिएका केही साविकका गाविसका नागरिकलाई कलैयास्थित कार्यालय नै नजिक पर्ने भएको हुँदा त्यस कार्यालयबाट हटाउन माग गरिएपनि विभागले अहिलेसम्म स्वीकृति नदिँदा कामकाज अगाडि बढ्न नसकेको हो ।

पहिल्यैदेखि रहेको यो समस्यालाई समाधानै नगरी यसरी मन्त्रीले सस्तो लोकप्रियताका लागि कार्यालयको उद्घाटन गर्दा सहज सेवा दिने सरकारी उद्देश्य पूरा भएको छैन भने स्थानीयको कठिनाई उस्तै छ ।


Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।