ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग प्रधानमन्त्री दाहालले गरे छलफल

चैत्र ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग प्रधानमन्त्री दाहालले गरे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग लगानी बोर्डसँग जोडिएका आयोजना निर्माण,आगामी कार्यदिशा र समस्याको विषयमा छलफल गरेका छन् ।

शुक्रबार लगानी बोर्डको कार्यालयमा नेपालका विभिन्न ठूला आयोजनामा लगानी गर्ने ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग लगानी बोर्ड जोडिएका आयोजना निर्माण,आगामी कार्यदिशा र समस्याको विषयमा छलफल भएको बोर्डका कार्यकारी अधिकृत सुशिल भट्टले जानकारी दिए । प्रधानमन्त्री दाहालले लगानी बोर्डसँग विभिन्न निर्माण चरण भएका परियोजना र करिब ३ खर्ब रुपैयाँ बराबरका आयोजनाका विकासकर्ताका प्रतिनिधि र अध्ययन चरणमा रहेका आयोजना विकासकर्ताका प्रतिनिधिसँग छलफल गरेका हुन् ।

 कार्यकारी अधिकृत भट्टले लगानी बोर्डले स्वीकृतको लागि पाइपलाइनमा रहेका ठूला जलविद्युत आयोजना नतिजामुखी कार्यान्वयन ढाँचामा आबद्ध भइसकेको बताए । ९०० मेगावट क्षमताको अरुण, ३,६७० मेगावाट क्षमताको तल्लो अरुण, ३७० मेगावटको अर्धजलाशययुक्त अपर मर्स्याङ्दी र अन्य औधोगिक पूर्वाधार आयोजनाहरु पाइपलाइनमा रहेको उनको भनाइ छ । यी आयोजनालाई बोर्डले प्राथमिकता दिएर नतिजा उन्मुख काम गर्ने भट्टको भनाइ छ।

‘प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा अन्तरक्रिया र छलफल गर्ने कार्यक्रम थियो’, उनले भने, ‘लगानी बोर्डले लगानी स्वीकृत गरेका आयोजनाहरुको सवालमा आयोजनाको अवस्था, प्रगति, भावी कार्यदिशा र आयोजनाले भोग्दै गरेका समस्याको विषयमा प्रधानमन्त्रीले जानकारी लिनुभयो । विभिन्न चरणहरु पार गर्दै निर्माण चरणमा पुगेर केही समय आयोजना व्यतित हुन्छन् ।’

भट्टले विश्वको अर्थतन्त्रको अवस्थालाई हेरेर आयोजना छनोटमा सजक हुन आवश्यक रहेको बताए । अब लगानी बोर्डले मुलुकको आर्थिक र सामाजिक विकासमा गरी मुहार फेर्नसक्ने आयोजनाहरुको पहिचान, अध्ययन गरेर मात्रै अगाडि बढाउनुपर्ने उनको भनाइ छ । लगानी बोर्ड आगामी लगानी सम्मेलनको पूर्वतयारीमा जुटेकोसमेत उनले जानकारी दिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.