ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका - ३ दियालेमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको ना १ ज ८४७३ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी चिशंखुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दीपक केसीले जानकारी दिए । दुर्घटनामा परी ११ घाइते भएका छन् । घाईतेमध्येका सिकिस्त चार जनालाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं पठाइ सकिएको वडाअध्यक्ष भीष्म श्रेष्ठले बताए ।
पाँच जना यात्रु बोक्ने क्षमता भएको बोलेरोमा १३ सवार थिए । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बालेरो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरीका प्रहरी निरिक्षक देवेन्द्र दासले बताए ।