डोटीका तीन पालिकाले गरे सार्वजनिक यातायात सञ्चालन (भिडियो रिपोर्ट)

माघ २८, २०७९ |मोहन शाही
डोटीका तीन पालिकाले गरे सार्वजनिक यातायात सञ्चालन (भिडियो रिपोर्ट)

डोटी । डोटीका स्थानीय तहहरुले सार्वजनिक यातायातमा केही नमुना काम गरेका छन् । छोटो दूरीका यात्रुलाई सार्वजनिक यातायात सेवामा गरिने दूर्व्यवहारबाट जोगाउन डोटीका ३ पालिकाले बससेवा सञ्चालनमा ल्याएका हुन् । स्थानीय तहहरुले बस सेवालाई निरन्तरता दिएपछि यात्रु खुसी देखिन्छन् ।

दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालिकाले बस सेवा सञ्चालनमा ल्याएपछि यहाँका स्थानीय बासिन्दाहरुले सार्वजनिक यातायात व्यवसायीहरुको यातनाबाट छुटकारा पाएका छन् । तीन वटै पालिकाहरुले पालिकाबाट स्थानीय बासिन्दाहरुलाई दैनिक रुपमा जिल्ला सदरमुकाम सिलगढी र व्यापारी क्षेत्र दिपायलसम्म ल्याउने गरेका छन् ।

स्थानीय पालिकाहरुकै लगानीमा बससेवा सञ्चालनमा ल्याउने नमुना कार्य डोटीमा मात्रै हो । ०७४ को स्थानीय तह निर्वाचनबाट आएका जनप्रतिनिधीहरुले निर्वाचित भएको दोस्रो वर्षबाटै बस सेवा सञ्चालनमा ल्याएका हुन् ।

ज्येष्ठ नागरिक, अपाङ्ग र पत्रकारहरुलाई विशेष सहुलियत दिइएको बस सेवामा निजी क्षेत्रको सार्वजनिक यातायातभन्दा भाडादर सस्तो छ । ०७८ मा निर्वाचित जनप्रतिनिधीहरुले समेत प्राथमिकता दिएपछि बससेवा थप प्रभावकारी बनेको छ ।

दिपायल सिलगढी नगरपालिकाले ३, शिखर नगरपालिकाले २ तथा पूर्वीचौकी गाउापालिकाले २ बस सञ्चालनमा ल्याएका छन् ।

पछिल्लो समय पक्कीबाटोमा मात्र नभएर केही ग्रामिण क्षेत्रमा समेत सेवा विस्तार गरिएको छ । यद्यपि बससेवालाई दीर्घकालीन गर्न ग्रामिण क्षेत्रहरुमा स्तरीय सडकहरुको निर्माण गर्नतर्फ ने स्थानीय पालिकाहरुको ध्यान जान जरुरी छ । 


Image

मोहन शाही

शाही कान्तिपुर टीभीका डोटी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement