गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजदेखि अन्तिम सुनुवाइ हुँदै

माघ ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजदेखि अन्तिम सुनुवाइ हुँदै

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजदेखि अन्तिम सुनुवाइ हुँदैछ । लामिछानेको सांसद पद खारेजीको मागसहित परेको रिटमा सर्वोच्चको संवैधानिक इजलासले अन्तिम सुनुवाइ थाल्न लागेको हो ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेजीको माग दाबीसहित सर्वोच्चमा रिट परेको थियो ।

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपालको कायम रहेको वा नरहेको तथा नेपाल फर्केपछि यहाँको नागरिकता लिने प्रक्रिया पूरा गरे/नगरेको विवादमा सर्वोच्चको संवैधानिक इजलास पुगेको हो ।

संवैधानिक इजलासको फैसला पुनरावलोकन नहुने भएकोले दोहोरो नागरिकताको विषयमा यो फैसला महत्वपूर्ण नजिर कायम गर्ने कानुनविद्को बुझाइ छ ।

नागरिकता ऐन २०६३ को दफा १० मा कुनै नेपालीले आफूखुसी विदेशी नागरिकता लिई उसको नेपाली नागरिकता कायम नरहने व्यवस्था छ ।

त्यस्तो व्यक्ति फेरि नेपाल आएर बसोबास गर्दा विदेशी नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा फेरि नेपाली नागरिकता कायम हुने भनिएको छ । तर लामिछानेले अमेरिकी पासपोर्ट त्यागेपछि नेपाली नागरिकता कायम हुने प्रक्रिया पूरा नगरेको पाइएको छ ।

मुद्दा अदालतमा कायमै रहेका बेला लामिछाने पुस ११ मा गृहमन्त्री भएका थिए ।

सुनुवाइ टुङ्गिएपछि सर्वोच्चले लामिछानेले नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गरेमा उनको मन्त्री र सांसद पद खारेज हुन सक्ने देखिन्छ । विदेशी नागरिकता त्यागेपछि स्वत नेपाली नागरिकता कायम हुने व्याख्या भएमा त्यो नयाँ नजिर हुनसक्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.