जनगणनाको अन्तिम नतिजा नआउँदा राष्ट्रपति निर्वाचनको मतभार निकाल्न अन्योल

माघ २, २०७९ |कान्तिपुर टीभी संवाददाता
जनगणनाको अन्तिम नतिजा नआउँदा राष्ट्रपति निर्वाचनको मतभार निकाल्न अन्योल

काठमाडौं । १२औं राष्ट्रिय जनगणनाको अन्तिम नतिजा सार्वजनिक नहुँदा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार पुरानै तथ्याङ्‍कले निकाल्ने कि नयाँले भन्नेमा अन्योल देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले गत वर्ष नै नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० जना रहेको प्रारम्भिक नतिजा सार्वजनिक गरेको थियो । जनगणनाको अन्तिम नतिजा सार्वजनिक नहुँदा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा मतभार निकाल्न अन्योल भएको छ । जनगणनाको अन्तिम नतिजा सार्वजनिक प्रधानमन्त्रीबाट हुने भए पनि प्रधानमन्त्रीले प्रतिवेदन बुझ्न अहिलेसम्म चासो दिएका छैनन् ।

कानुनअनुसार राष्ट्रपतिको चुनावका लागि देशको जनसंख्या यकिन हुनुपर्छ । किनभने, कुल जनसंख्यालाई एक हजारले भाग गरेर त्यसलाई फेरि ३३४ संघीय सांसदले भाग गरेपछि बल्ल मतभार तय हुन्छ । यसका लागि पछिल्लो जनगणनाको तथ्यांकलाई आधार मान्नुपर्ने हुन्छ ।

अघिल्लोपटक राष्ट्रपतिको चुनावमा मतभार निकाल्दा २०६८ सालको जनसंख्यालाई आधार मानिएको थियो । यसअनुसार एक संसद बराबरको मतभार ७९ थियो । अब २०७८ को जनगणनाअनुसार एक सांसदबराबरको मतभार ८७ हुन्छ । त्यस्तै प्रदेशसभा सदस्यको मतभार ४८ बाट बढेर ५३ पुग्छ ।

राष्ट्रपतिको चुनाव आउनै लाग्दासमेत तथ्यांक कार्यालयले सरकारलाई जनगणनाको प्रतिवेदन बुझाएको छैन । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार निकाल्न मात्रै होइन, विभिन्न तह र निकायलाई नीति योजना तर्जुमा गर्न पनि जनगणना महत्त्वपूर्ण मानिन्छ । तर अहिलेसम्म ११ वर्षअघिको तथ्यांककै आधारमा नीति र योजनाहरु बनिरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.