भोजपुर । सामान्यतः पहाडी जिल्लामा खेल मैदानको अभाव नै हुन्छ । भएका मैदान पनि स-साना र सुविधाविहीन हुन्छन् । मैदानकै समस्याले खेलाडी पलायन हुने गरेका थिए । निर्माणाधीन भोजपुर रंगशालाको काम अन्तिम चरण पुगेसँगै भोजपुरे युवा खेल जगत र खेलप्रेमीमा उत्साह जागेको हो ।
नेपाली खेलकुद क्षेत्रमा भोजपुरको गर्विलो इतिहास छ । अन्तराष्ट्रिय जगतमा नेपाल चिनाउने अल्ट्राधाविका मिरा राईदेखि राष्ट्रियस्तरका ख्यातीप्राप्त ब्याडमिन्टन र उसु खेलाडीसमेत भोजपुरले जन्माएको छ । राष्ट्रियस्तरका खेलकुदमा राम्रो दख्खल राखे पनि खेलमैदान अभावमा दीर्घकालिन योजना नहुँदा सोचेजति खेलाडी उत्पादन हुन सकेका छैनन् । तर प्रदेश सरकारको करिब १७ करोड ९५ लाख रुपैयाँको लागतमा निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी रायमाझी मार्सेली जेभीले रंगशालाको ९७ प्रतिशत काम सम्पन्न गरेसँगै भोजपुरको खेल जगत र युवा खेलप्रेमीमा नयाँ आशा जगाएको छ ।
तत्कालीन जिल्ला विकास समितिले २०६४ सालमा भोजपुर नगरपालिका-७, कोदारस्थित ५५ लाख रुपैयाँमा जग्गा खरिद गरे पनि पर्याप्त बजेट अभावमा प्रयोजनविहीन भएपछि खेलाडी र खेलप्रेमीसमेत निराश थिए । तर आर्थिक वर्ष २०७४/७५मा उत्कृष्ट अन्तराष्ट्रियस्तरको रंगशाला बनाउने लक्ष्यअनुसार काम सुरु गरियो । अहिले रंगशालाको प्यारापिट, कभर्ड हल, रिटेनिङ वाल, कार्यालय भवन, क्यान्टिन भवन, शौचालयलगायतका काम अन्तिम चरणमा पुगेको छ ।
कुल २६ रोपनी क्षेत्रफलमा फैलिएको रंगशाला निर्माणको सम्पन्न भएसँगै स्तरीय खेलाडी उत्पादन हुने मात्र होइन, खेलाडी पलायन हुनुपर्ने बाध्यतासमेत हट्ने आशा गरिएको छ ।