दैलेख । राउटे दक्षिण एसियाकै एकमात्र फिरन्ते जाति हो । आफूलाई 'वनको राजा’ भन्न रुचाउने राउटेको अत्यधिक मदिरा सेवन, पोषणयुक्त खानाको कमी, नवजात शिशुको हेरचाहमा समस्याजस्ता कारणले जनसंख्या बर्सेनि घट्दो क्रममा छ ।
हाल दैलेखमा बसोबास गरिहेका राउटे समुदायको जनसंख्या चार वर्ष अघिसम्म १७२ थियो । हाल यो घटेर १४३ जनामा सीमित भएको छ । मदिराको अधिक सेवनबाट यो समुदायका हरेक उमेरसमूहको व्यक्तिले अकालमा ज्यान गुमाइरहेको छ ।
स्याहारसुसार र पोषणयुक्त खानपानको अभाव र चिसोका कारण राउटे बालबालिकाको मृत्यु हुने गरेको छ । गत चार वर्षयता राउटे बस्तीमा २९ जनाको मृत्यु भएको छ । जसमध्ये २० जना बालबालिका छन् । वयस्क उमेरका राउटेमा मदिरा सेवनको असर देखिएको छ । केही त थलै परेका छन् ।
‘बालबालिकाहरु धेरै नजन्माउनु भन्नुभएको छ हामीलाई,’ राउटे समुदायका मुख्य मुखिया सूर्यनारायण शाहीले भने ।
सानो झुपडी, खोलाको किनार, चिसो मौसम र न्यानो कपडाको अभावका कारण उनीहरूको दैनिकी कष्टकर भएको छ । सुत्केरी आमा तथा किशोरीका लागि पोषणयुक्त खानेकुरा छैन । राउटे अगुवाहरूले पछिल्ला दिन आफ्ना सदस्यको स्वास्थ्यको चिन्तासमेत गर्न छाडेको देखिन्छ ।
‘खाने (मदिरा) मान्छेले पनि ध्यान दिनुपर्ने त हो । हामी पनि विस्तारै बुझ्दै छौं,’ राउटे युवा प्रकाश शाही भन्छन् । राउटे समुदाय सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ताको भरमा जीवन गुजारा गर्दछ । भत्ता बुझेको केही दिनसम्म उनीहरू मदिरा सेवनमा लठ्ठ हुन्छन् । यो समुदायले भत्ताको रकम मदिरा, सुर्ती र चुरोटमा खर्चिने गर्छ । र अब यो कुलत बालबालिकामा पनि सरेको छ ।
दैलेखमा रहेको राउटे परियोजनाकी कर्मचारी अमृता रोकाय भन्छिन्, ‘राउटे समुदायमा मृत्युदर बढ्दो क्रममा छ । जसमा मदिरा र चिसोको प्रमुख कारणले राउटे समुदायको मृत्युदर बढिरहेको हो ।’
राउटे समुदायमा केही वर्षअघिसम्म पनि अरुले दिएको कुरा सित्तैमा नलिने, महिलाहरुलाई बाहिरका पुरुषसाग बोल्न नदिने, पैसा छोए पाप लाग्छ भन्ने मान्यता थियो । विगतमा काठबाट बनाएका सामग्री बेचेर गुजारा गर्ने यो समुदाय अहिले त्यो पेसा पनि छाडिसेकेको छ ।
पछिल्ला दिनमा भने मदिरा सेवनकै कारण उनीहरुले मुखियाको आदेशसमेत मान्न छाडेका छन् । राउटे समुदायका लागि सरकारले गरेको खर्चलाई नगदमा नदिई उनीहरूको शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवश्यकताका आधारमा उपलब्ध गराउनुपर्ने आवाज उठ्न थालेको छ ।