मगर समुदायको झाम्रे नाच लोप हुने अवस्थामा, संरक्षणमा तनहुँका युवा जुटे

पुस १७, २०७९ |प्रताप राना
 मगर समुदायको झाम्रे नाच लोप हुने अवस्थामा, संरक्षणमा तनहुँका युवा जुटे

तनहुँ । नेपालका प्रायः सबै समुदायका आ-आफ्नै संस्कृति र परम्परा छन् । तर केही मौलिक संस्कृति लोप भएका छन् भने कयौं लोपोन्मुख छन् । मगर बहुल गाउँमा घन्किने झाम्रे नाच पनि लोप हुन थालेपछि तनहुँका मगर समुदाय संरक्षणमा जुटेका छन् । योसँगै अहिले तनहुँका मगर गाउँमा झामर्‍या गुञ्जयमान हुन थालेको छ ।

झामर्‍या मगर समुदायको मौलिक नाच हो । परम्परागत यो नाच पाका उमेरका मानिसबीच लोकपि्रय पनि छ । तर पछिल्लो समयमा युवा पुस्ताको पलायन र मौलिक संस्कृतिप्रतिको बेवास्ताले यो नाच ओझेलमा छ । यसको मौलिकता हटाउन नदिन र संरक्षण गर्न तनहुँका मगर समुदाय जुटेका छन् ।

तनहुँ, नवलपुर, पाल्पा, स्याङ्जा, गोरखा र बाग्लुङलगायतका मगर बहुल गाउँमा नचाइने यो नाच पश्चिमा संस्कृतिको प्रभावले ओझेलमा मात्र थिएन लोप नै हुने अवस्थामा पुगेको थियो । नेपाली मौलिक संस्कृति र मगर जातिको सांस्कृतिक पहिचानसँग जोडिएको झामर्‍या नाचलाई जीवन्त बनाउन युवा युवती नै सक्रिय छन् ।

‘हामीले आफ्ना बाजे, बज्यैसँग सिकेर यस नाचलाई निरन्तरता दिइरहेका छौँ ।’ मैदानस्वराकी सुन्जु आलेमगरले भनिन् ।

परम्परागत प्रचलनलाई जीवित गराउनु पर्छ भन्ने उद्देश्यले संरक्षणको कार्यक्रम थालेको तनहुँ रिसिङका सिद्ध आलेले जानकारी दिए ।

झामर्‍या नाचलाई संरक्षण गर्न स्थानीय तहले पनि पहल गरेका छन् । यो नाचमा जनप्रतिनिधि सहभागी हुने र पालिकाबाट बजेट विनियोजन गर्न थालिएको छ ।

मगर समुदायमा यो नाच लामो समयसम्म नचाउने गरिन्छ । हरेक वर्ष दशैंको अष्टमीदेखि सुरु हुने यो नाच माघसम्म नचाइन्छ । मादल, झर्रा र डम्फुको तालमा युवा युवतीले गीत गाएर सामूहिक रुपमा नाच्ने चलन छ । यसले समुदायमा भाइचारा वृद्धि गर्न सहयोग पुर्‍याउने संस्कृतिविद् बताउँछन् ।


Image

प्रताप राना

राना कान्तिपुर टीभीका तनहुँ संवाददाता हुन् ।