गुलरिया (बर्दिया) । दुर्लभ एवं सुन्दर शरीरका कारण कृष्णसार मनमोहक र चित्ताकर्षक देखिन्छन् । हिन्दु धर्ममा यसलाई भगवान श्रीकृष्णको साथीका रूपमा पनि लिइन्छ ।
लामा, बटारिएका आकर्षक सिङ, सेतो पेट अनि कत्था रंगको माथिल्लो भागको भुत्लाले यो जनावर तेजिलो र सुन्दर देखिन्छ ।
बर्दियाको गुलरिया नगरपालिका–२, खैरापुर क्षेत्रमा यस्को मनमोहक चहलपहल हेरेर आनन्दित बन्न सकिन्छ । त्यहा जो गए पनि कृष्णसारको विचरण, वात्सल्य प्रेम र मनोरम गतिविधि हेरेर रोमाञ्चित बन्ने गर्दछन् । यसको सुरिलो आवाजले जोकोही पनि मोहित बन्छन् । सरकारले खैरापुर क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरेर कृष्णसार संरक्षित गर्दै आएको छ ।
कृष्णसार स्तनधारी वन्यजन्तु हो । यो नदी तटीय क्षेत्रको खुल्ला र घाँसे मैदानमा बस्न मन पराउने वन्यजन्तु हो । कृष्णसारको पोथी जातिले एक पटकमा एउटा मात्र बच्चा पाउने र यसको औसत आयु १२ वर्षसम्म रहने विज्ञहरू बताउँछन् ।
कृष्णसारको आहारा घाँस, दुबो, सिरु र काँस हो । बच्चाले आफैं आहार नखाउन्जेलसम्म माउले करिब एक महिना अग्लो घाँसमा लुकाएर राख्छ । त्यो बेला बच्चालाई स्याल, कुकुर, चिल, चितुवा र हुँडारले खाने जोखिम बढी हुने गरेको चराविद् डा. हेमसागर बराल बताउँछन् ।
सरकारले ०६५ साल चैत ३ गते खैरापुरलाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको छ । एक वर्षयता खैरापुरमा २६ वटा कृष्णसार बढेका छन् । एक वर्ष अघिसम्म भाले, पोथी र बच्चासहित १ सय ६४ वटा बच्चा थिए । अहिले गणना गर्दा भाले ४२, पोथी १ सय १४ र बच्चा २७ वटा गरी १ सय ८३ पुगेको कृष्णसार संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत विनयकुमार झाले बताए ।
उनले भने, ‘गणना दैनिक गरिन्छ तर, वन्यजन्तु सप्ताहका बेला विस्तृत गणना गर्छौं । कृष्णसार हेरेर आनन्दित हुनेहरुका लागि खैरापुर मुलुकको उत्कृष्ट स्थल हो । यहाँ नजिकैबाट उनीहरुको मनमोहक चहल–पहल हेरेर आल्हादित हुन सकिन्छ ।