६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा २०७४ सालमा क्षेत्र नम्वर २ मा मात्र कांग्रेस विजयी भएको थियो । क्षेत्र नम्वर १, ३, ६ मा एमाले, क्षेत्र नम्वर ४, ५ माओवादी विजयी भएका थिए । एमाले र माआवादी केन्द्रको गठबन्धन हुँदा आफु एक्लै प्रतिस्पर्धा गर्दा पनि अधिकांश क्षेत्रमा झिनो मतले मात्र पराजित भएको भन्दै संघ तर्फका ६ वटै सिटमा नेपाली कांग्रेसले दाबी गरेको छ ।
माओवादी केन्द्रले २०७४ सालमा आफुले जितेको ४ र ५, प्रदेश सभाको क्षेत्र नम्बर १ को क र ४ को क का अतिरिक्त अन्य निर्वाचन क्षेत्रका प्रदेश सभाको कम्तिमा एउटा सीट आफुले पाउनुपर्ने दाबी गर्दै आएको छ ।
जनता समाजवादी पार्टीले प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर ५ का अतिरिक्त प्रदेश सभा तर्फ क्षेत्र नम्बर २, ४, ५ र ६ का कम्तिमा एक एक वटा सिट माग गरेको छ । २०७४ सालमा नेकपा एमाले विजयी भएका संघ तर्फका तीन सिट मध्ये कम्तिमा एउटा र प्रदेश सभाका पाँच सिट मध्ये कम्तिमा चार सिट आफुले पाउनु पर्ने नेकपा एकिकृत समाजवादीले दाबी गर्दै आएको छ ।
नेकपा एमालेले भने एक्लै निर्वाचनमा उभिने तयारी गरेको छ ।
एमालेका असन्तुष्ट जति नेकपा एकिकृत समाजवादीमा गएकाले एमालेमा खासै नेता व्यवस्थापनको समस्या छैन । तर कांग्रेसमा धेरै नेता भएको र गठबन्धनका दलहरूलाई पनि सिट दिनुपर्ने भएकाले कांग्रेसमा नेता व्यवस्थापनको समस्या जटिल छ । धेरै मतदाता भएको र बढी घात अन्तर्घात हुने भएकाले कांग्रेसको नेता व्यवस्थापन कसरी हुन्छ त्यसले मोरङको समग्र निर्वाचन परिणामलाई फरक पार्ने देखिन्छ ।