मतदाता नामावली निर्वाचनको पूर्वाधार हो । किनकी मतदाता संख्याकै आधारमा मतदान स्थल र केन्द्र निर्धारण गर्नेदेखि बजेट र निर्वाचन सामग्रीसम्म तय गरिन्छ । नेपालमा मतदाताको इतिहास कस्तो छ त ? अनि महिलाले कहिलेदेखि मताधिकार प्रयोग गर्न पाए ? सहकर्मी अञ्जना लामिछानेले मतदाताको इतिहास केलाएकी छन् ।
राणा प्रधानमन्त्री पद्मशमशेरले २००४ सालमा काठमाडौं म्युनिसिपालिटीमा गराएको निर्वाचन नै नेपालको इतिहासमा पहिलो निर्वाचन हो । त्यसबेला २१ वर्ष पुगेका पुरुषले मात्रै मतदान गर्न पाउने व्यवस्था थियो । काठमाडौंमा मात्र भएको निर्वाचनमा ६८ हजार १ सय १८ जना मतदाता थिए। २००७ सालको राजनीतिक परिवर्तनपछि भने महिलाले मताधिकार मात्रै पाएनन्, उम्मेदवार नै बन्ने मौका पाए । २०१० सालमा भएको काठमाडौं नगरपालिकाको चुनावमा ५६ हजार मतदाता थिए । २०१५ सालको आमनिर्वाचनमा देशभर मतदाताको संख्या ४२ लाख ४६ हजार पुग्यो । त्यसबेला एक जना महिला विजयीसमेत भए । महिलाले मताधिकार प्राप्त गरेपछि राजनीतिमा मात्र नभएर सामाजिक क्षेत्रमा पनि उनीहरुको भूमीका बढेको देखिन्छ ।
निर्वाचनमा मतदाता संख्या विस्तारै बढ्दै गएको पाइन्छ । २०३७ सालको जनमत संग्रहमा अघिल्लो निर्वाचनकोभन्दा झन्डै ३० लाख बढी अर्थात् ७१ लाख ९२ हजार ४ सय ५१ मतदाता भए । २०३८ सालमा भएको पहिलो राष्ट्रिय पञ्चायतको निर्वाचनदेखि भने १८ वर्ष पुगेकाले मताधिकार पाए । २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा पनि २० लाखभन्दा बढी मतदाता थपिए अर्थात मतदाता संख्या ९० लाख ३४ हजार ५ सय ८३ पुग्यो ।
२०४६ को राजनीतिक परिवर्तनपछि २०४८ सालमा भएको निर्वाचनमा मतदाता संख्या बढेर १ करोड ११ लाख ९१ हजार ७ सय ७७ पुग्यो । त्यही बेलादेखि मतदाताले दोहोरो मतदान गर्न नपाउन् भनेर संकेतका रुपमा औंलामा निलो रङ लगाउने चलन चलेको हो । २०५१ मा भएको निर्वाचनमा मतदाता संख्या १ करोड २३ लाख २७ हजार ३ सय पुगेको थियो । त्यस्तै २०५६ सालमा मतदाता संख्या १ करोड ३५ लाख १८ हजार ८ सय भयो । २०६२/६३ सालको जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा ४१ लाखभन्दा बढी मतदाता थपिए । त्यसबेला १ करोड ७६ लाख ११ हजार ८ सय ३२ जना मतदाता थिए जसमध्य ८८ लाख ८१ हजारभन्दा बढी त महिला नै थिए । तर त्यस बेला मृत्यु भइसकेकाहरुको नाम पनि नामावलीबाट नहटाइँदा मतदाता संख्या धेरै देखिएको थियो ।
मतदाता नामावलीमा शुद्दता ल्याउनुपर्ने आवाज उठेपछि निर्वाचन आयोगले २०६७/६८ सालबाट परिचयपत्रसहितको मतदाता नामावली बनाउन थाल्यो । त्यसपछि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा आउँदा मतदाता संख्या घटेर १ करोड २१ लाख ४७ हजारमा झरेको हो । २०७४ को आमनिर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९ सय ३८ मतदाता हुँदा ७६ लाख ५१ हजारभन्दा बढी महिला थिए ।