४४ वर्षअघि बिजुली र ५० वर्ष पहिले नै दाङमा सडक सञ्जाल जोडिएको थियो । तर, दाङको गंगटेका नागरिकले अझै पनि बिजुली बाल्न पाएका छैनन् । सडकको अवस्था पनि जीर्ण छ । बिजुली, सडकसँगै गंगटेमा स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता सेवासमेत प्रभावकारी छैनन् ।
दाङ सडक सञ्जालमा जोडिएको पाँच दशक भयो । तर बबई गाउँपालिका वडा नम्वर १ गंगटेमा मोटर बाटोको ट्रयाक खुलेको २ वर्ष मात्रै भयो । अहिले पनि ठूला यातायातका साधन पुग्न सक्दैनन् । सदरमुकाम घोराहीबाट १ सय २५ किलोमिटर पश्चिममा रहेको यो ठाउामा वर्षातको समयमा सडक बन्द नै हुन्छ ।
विकास देखाउनकै लागि वर्षदिन अघि ३ करोडभन्दा बढी खर्चिएर गाउँमा विजुलीका पोल र तार तानिएका छन् । तर, गाउँका कुनै पनि घरमा विजुली बत्ती जडान भएका छैनन् । जिल्लाका अन्य ठाउँमा बसोबास गर्नेले ४४ वर्ष पहिलेदेखि विद्युत् उपयोग गर्न पाइरहेका छन् । तर, गंगटेवासी अहिलेसम्म बञ्चित छन् ।
विजुली बत्ती र सडकको जस्तै यहाँ खानेपानी र सिँचाईको पनि अभाव छ । खोलाको पानी खानुपर्ने बाध्यता छ । गाउँमा १० कक्षासम्मको विद्यालय भए पनि निजी स्रोतबाट चलाउनु परेको छ । सामान्य औषधि उपचार गर्न स्वास्थ्य संस्था भए पनि अधिकांश विरामी तुलसीपुर र घोराही जानुपर्ने बाध्यता छ ।
सल्यान र बाँके सँग सिमा जोडीएको गंगटेमा १२ सय भन्दाबढी घरधुरी छन् । यहााँ बासिन्दा आधारभूत सेवाबाट पनि बन्चित हुँदै आएका छन् ।