टफटकमा सीके लाल- प्रधानमन्त्रीमा सम्राट मनोवृत्ति छ

मंसिर १३, २०८०
टफटकमा सीके लाल- प्रधानमन्त्रीमा सम्राट मनोवृत्ति छ

नयाँ संविधान बनेपछि भएको पहिलो निर्वाचनबाट केपी ओलीको नेतृत्वमा सुविधाजनक बहुमतको सरकार बन्यो । तत्कालीन नेकपा विघटनपछि कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर जुर्‍यो । सभापति शेरबहादुर देउवा पाँचौंपटक प्रधानमन्त्री बने ।

अहिले दोस्रो निर्वाचनबाट बनेको सरकारको पनि एक वर्ष पूरा हुन लागेको छ । तर, आमनागरिकमा आशाभन्दा बढी निराशा छाएको छ । कतिपय नागरिकले त सडकमै निस्केर आक्रोश पोख्न थालेका छन् ।

एक वर्षअघिको चुनावमा दलहरुले के भनेर जनतासँग भोट मागेका थिए ? चुनावको परिणाम के थियो ? चुनावपछि के भनेका थिए ? र, अहिले तिनै दल र तिनै दलहरुले बनाएको सरकारले के गरिरहेको छ ? आमनागरिक हिसाब खोज्न थालेका छन् ।

१० दलले बनेको गठबन्धन सरकारले सेवा प्रवाहमा सुधार, रोजगारी सिर्जना, आर्थिक समुन्नति, भ्रष्टाचार अन्त्यलगायत ११ वटा विषयमा प्रतिबद्धता जनायो । तर, अहिले पुष्पकमल दाहाल नेतृत्वको सरकार आफ्नो वाचा पूरा गर्नभन्दा राजनीतिक जोडघटाउमै मस्त छ । चिन्ता छ त केबल आफ्नो सरकारको आयु मात्र । अरु त परको कुरा, जाजरकोट भूकम्पबाट बाँचेका नागरिक गाँस र बासकै अभावले तड्पिरहेका छन् । पीडितलाई न्यानो लुगा, पेटभरि खाना र उचित उपचारको समेत व्यवस्था हुन सकेको छैन । बढ्दो चिसो र उपचार अभावले सुत्केरी र बालबालिकाको मृत्यु हुन्छ तर सरकार केही थाहा नपाएझैं कानमा तेल हालेर बसेको छ ।

नागरिकमा निराशा किन चुलियो ? समाज कता जाँदै छ ? लोकतान्त्रिक सरकार नै किन बन्दै छ नियन्त्रणमुखी ? सरकार नागरिकसँग किन डराउँछ ? के सरकार आफैँले बाटो बिराएको हो ? तीन तहका सरकार हुँदा पनि जनतालाई सेवा पाउन किन सास्ती ? माओवादीको सशस्त्र विद्रोह, ०६२/६३ को जनआन्दोलन, मधेश आन्दोलन लगायतको उपलब्धि यही हो ? आजको टफटकमा यी र यस्तै विषयमा लेखक तथा विश्लेषक सीके लालसँग कान्तिपुर टेलिभिजनका प्रधानसम्पादक दिलभूषण पाठकले बहस गरेका छन् :

पहिले-पहिले राजनीतिमा विश्वासको संकट छ भनेर भनिन्थ्यो । आज आएरचाहिँ त्यो विश्वासको संकट समाजमा प्रतिबिम्बित हुन् थालेको हो ?

संस्कृत, राजनीति, समाज र अर्थतन्त्र- यो चारवटा खुट्टामध्ये एउटा मात्रै पनि हल्लियो भने बाँकी चाहिँ यथास्थितिमा रहन सक्दैन नि । अहिले राजनीतिले जुन किसिमको वातावरण बनायो- त्यो नयाँ पनि होइन । यो विवादास्पद संविधान लागु भएदेखि नै राजनीतिले एउटा विश्वासको संकट समाजमा खडा गर्‍यो । सबैभन्दा पहिले त- संविधानको पक्षधर र संविधानलाई बाध्यताले मात्रै स्वीकार गरेका पक्षहरूबीचको थियो । दोस्रो- नेपाल कम्युनिस्ट पार्टीको गठन भयो । तत्कालीन दुई धारमा रहेका मार्क्सवादी-लेलिनवादी र माओवादीहरू एक ठाउँमा आएपछि अनि त्यसबेलाको प्रतिपक्षसँगको जुन किसिमको विश्वासको संकट बढ्न गयो- त्यो दोस्रो विभक्ति विन्दु भन्छ ।

अनि त्यसपछि फेरि, अहिलेको प्रधानमन्त्रीले एउटासँग सरकार बनाएर केही दिनभित्र फेरि अर्कोसँग सरकार बनाएर जे गर्नुभयो, यसले गर्दा राजनीति देशको लागि नभएर, राजनीति राजनीतिकै लागि हुन् गयो भन्ने सन्देश व्यापक गयो समाजमा । त्यसले एउटा चौतर्फी संकटको परिस्थिति सिर्जना गरेको चाहिँ हो ।

मैले यो विषय किन कोट्याएको हुँ भने, तपाईंले दुई महिनाअघि अर्थात् असोज ३ मा कान्तिपुर दैनिकमा एउटा लेख लेख्नुभयो, ‘खस्किँदै गएको सामाजिक भरोसा’, त्यसमा तपाईंले नागरिक र राज्य, राज्यका निकाय र समाज अर्थात समग्रमा मानिस मानिसबीचको सम्बन्ध केलाउनुभएको छ । तपाईंले सन्देश के दिनुभएको छ भने- विश्वास बढ्दा के हुन्छ र घट्दा के हुन्छ ? विभिन्न पाटा केलाउने सिलसिलामा । विश्वास घट्दाखेरी मुलुकमा बेथिति बढ्छ, भ्रष्टाचार बढ्छ भनेर भन्नु भो । विश्वास बढ्दा भ्रष्टाचार घट्छ, मान्छेको सहभागिता वा अपनत्व बढ्छ भनेर भन्नु भो । आजको दिनमा त्यो के घट्यो वा के बढ्यो ? कुन् विन्दुमा छौं हामी ?

पुँजीका स्वरूपहरू विभिन्न छन् । हामीले पुँजी भन्दासाथ आर्थिक मात्रै हिसाब गर्छौं नि । मार्क्सले पनि त्यही भने । पुँजीवादीहरूले पनि पुँजी त्यही भन्छन् । तर पुँजी भनेको आर्थिक मात्रै होइन । पुँजीका स्वरुपहरू शक्तिका स्वरूप जस्तै विभिन्न हुन्छन् । बौद्धिक पुँजी पनि एउटा पुँजी हो, जसलाई कहिलेकही आर्थिक पुँजीमा रुपान्तरण गर्न सकिन्छ ।

यस्तै सांस्कृतिक पुँजी पनि एउटा पुँजी हो । एउटा पुरेत बाजेसँग दुई पैसा नभए पनि उनको सांस्कृतिक पुँजी ठूलो हुन्छ । त्यस्तै सामाजिक पुँजी पनि एउटा पुँजी हो- सांस्कृतिक पुँजी सहजै ठम्याउन सकिन्छ । बौद्धिक पुँजी पनि ठम्याउन उतिसारो गाह्रो हुँदैन । सबै भन्दा स्पष्ट देखिने त आर्थिक पुँजी नै हो । यो सामाजिक पुँजीचाहिँ सबैभन्दा गाह्रो हुने- यसको निर्माण पनि गाह्रो, हेर्न पनि गाह्रो । धान्न पनि गाह्रो ।

सामाजिक पुँजी भनेको व्यक्ति-व्यक्तिबीचको सम्बन्ध कस्तो छ ? समूहबीचको सम्बन्ध कस्तो छ ? एक-अर्काबीचको विश्वास कस्तो छ ? एक-अर्कालाई हेर्ने दृष्टिकोण कस्तो छ ? सामाजिक पुँजी यदि राम्रो हुने हो भने, त्यसले के गर्छ भने संस्थाहरूप्रतिको विश्वास बढाउँछ । संस्थाहरू प्रतिको विश्वास बढायो भने, सामाजिक पुँजी बढायो भने संस्थाहरू पनि बलियो हुन्छ । अनि समग्र राज्य, समाज, बजारको जुन एकाइहरू छन् ती सबै- इन्जिनियरिङको भाषामा भन्ने हो भने एक-अर्कासँग ‘जेल’ भएर राम्रोसँग काम गर्न थाल्छ ।

हाम्रोचाहिँ बौद्धिक पुँजी त घट्दै गएको छ । सांस्कृतिक पुँजी पनि कमजोर हुने क्रममा छ । सबैभन्दा ध्यान दिनुपर्ने सामाजिक पुँजीमा हामीले ध्यानै दिएनौँ । सबैभन्दा ह्रासचाहिँ त्यहाँ आयो- जुन चिन्ताजनक परिस्थिति हो ।

त्यसलाई अझै ब्रेकडाउन गरेर भन्ने हो भने- एउटा व्यक्तिमा देखिएको नैतिक संकट हो । सामाजिक पुँजी त्यहाँ गएर जोडिएको छ । अथवा राजनीतिक नेतृत्वमा, राजनीतिका हिस्सेदार वा सरोकारवालाहरू, अझ स्पष्ट रूपमा भन्नुपर्दा दलका ठूला नेताहरूमा जुन नैतिक ह्रास आएको छ । तपाईंले सामाजिक पुँजी गुमाउँदै छन् भनेको सिधासिधा अर्थमा त्यो त्यही नै हो । तपाईले देखाइरहेको समस्याले कस्तो संकट निम्त्याँछ ?

नैतिक स्खलन भनेको लक्षण हो । रोग अन्तत: सामाजिक पुँजीको अभाव नै हो । हाम्रो जुन नेता हुन् जुन मंगल ग्रहबाट त आएका होइनन् । हामीले नै छानेका । यत्रो बहुमत दिएर हामीले नै जिताएका हौँ । हामी नै तिनकामा चाहिँ नियुक्ति दिनुपर्‍यो, सरुवा गर्नुपर्‍यो । मेरो गाउँमा बाटो बनाइदिनुपर्‍यो । अर्को ठाउँको काटेर हाम्रोमा पुर्‍याइदिनुपर्‍यो भन्र जान्छौँ । किनभने यसले प्रक्रियागत रुपमा काम गर्छ भन्ने हामीलाई विश्वासै छैन । यो समाजिक विश्वासको संकट हो । नैतिक संकट त लक्षणको रुपमा मात्रै देखिएको हो ।

अब अहिलेको परिस्थित हेर्‍यो भने, राजनीति पनि यस्तो छ कि अहिलेका प्रधानमन्त्रीलाई यो गठबन्धन बचाउँन वा प्रधानमन्त्री पद बचाउनलाई सबैभन्दा ठूलो चिन्ता छ । उखु कृषकले, एउटी हिंसा खेपेकी बलात्कृत महिलाले वा कुनै बिचौलियाको घानमा परेको पीडितले माइतीघरको मण्डलामा आएर नसुतुन्जेलसम्म राज्यले थाह पाउँदैन । जाजरकोटमा एउटा सुत्केरी चिसोले मर्छन् । विपत्तिमा ए भगवान् बाँचे भनिराखेको छ । त्यसपछाडि चिसोले, खान नपाएर, न्यानो लुगा नपाएर मान्छे मर्छन् । सरकार कानमा तेल हालेर बसिरहेको अवस्था छ । सरकारलाई कुनै हालतले आफू टिक्नु पर्नेछ । विपक्षीलाई कतिबेला झर्ला र खाउँ भन्ने भइरहेको छ । समस्या यही हो कि अरू छ ?

होइन । समस्या ठूलो छ । साधारण भइदिएको भए समाधान भइसक्थ्यो । प्रधानमन्त्री गएर त्यहाँ दुईवटा कम्मल बाँडेर कुरा टुंगिन्थ्यो । कुरा त्यति मात्र होइन । सबैभन्दा ठूलो समस्या के भने- हामीले संस्थाहरू बलिया हुन दिएनौं ।

त्यो जाडोले मर्न नदिने प्रमुख जिम्मेवारी त स्थानीय सरकारको हो नि । दोस्रो जिम्मेवारी त्यहाँको समाजको पनि हो । त्यहाँ सबैलाई समान रुपले समस्या त परेको छैन नि त । केही त आफ्नो छिमेकीलाई मद्दत गर्न सक्ने अवस्थामा अहिले पनि छन् नि । तर त्यहाँ व्यक्ति केन्द्रीयता छ । हाम्रो मानसिकता पनि के छ भने, सबै कुरा प्रधानमन्त्रीले गर्नुपर्नेजस्तो । प्रधानमन्त्रीको मनोवृत्ति के छ भने- सम्राटको जस्तो । सम्राटको मनोवृत्तिमा के हुन्छ भने मेरा छोराछोरीले नै मलाई सिध्याइ दिन्छन् भन्ने डर हुन्छ नि । त्यहा सम्राट मनोवृत्तिचाहिँ प्रजातान्त्रिक प्रधानमन्त्रीमा हुनु भनेको उसले जुनसुकै सर्तमा आफ्नो सत्ता जोगाउनका लागि जे पनि तयार हुने हो क्या त्यो ।