के नागरिकमा निराशा जन्माउने दल र नेताहरूको औचित्य सकिएको हो ?

मंसिर ४, २०८०
के नागरिकमा निराशा जन्माउने दल र नेताहरूको औचित्य सकिएको हो ?

नेपालको राजनीति अधोगतितिर उन्मुख छ कि उन्नतितिर ? प्रश्नजस्तै उत्तरका पनि दुई पाटा छन् । आफूलाई मूलधारको बताउने दलहरूलाई लाग्छ- उनीहरूको कर्म उन्नतितिर उन्मुख छ । तर, आमसर्वसाधारण नेपाल राष्ट्रलाई रसातल पुर्‍याउने दिशामा नेपाली राजनीतिलाई तिनै मुख्य भनिने दल र तिनका नेताहरूले हिँडाएको अनुभूत गरिरहेका छन् । जनतालाई लागेको छ, जबसम्म दल र तिनका नेता सुध्रिनन् देशको अवस्था र व्यवस्था दुवै सुध्रिने वाला छैनन् । 

नेपालको हकमा राजनीति दूषित भएर नेता खराब भएका हुन् कि खराब नेता भएकाले राजनीति प्रदूषित भएको हो- यसै भन्नै गाह्रो छ । कतिपयले त खराब नेता र दूषित राजनीतिलाई सिक्काको दुई पाटोका रूपमा पनि अर्थ्याउने गरेका छन् । 

त्यसैले नेपाली समाजमा पछिल्लो समय व्यापक निराशा, छटपटी र आक्रोश छ । मुलुक संघीयतामा गएपछि दोस्रो संघीय चुनाव भएको आज एक वर्ष पूरा भए पनि यसमा कुनै कमी आएको छैन । यो आक्रोश रचनात्मक विद्रोहमा परिणत हुन्छ वा लोकरिझ्याइँको मारमा पिल्सिन्छ भन्ने कुराले धेरै हदसम्म हाम्रो आगामी राजनीतिको मार्गचित्र कोर्नेमा कुनै शंका छैन । 

नेपालको राजनीतिको दिशा र दशा ठीक वा बेठीक के छ ? हरेक क्रान्तिपछि नेपालमा किन शृ्खलाबद्ध भ्रान्ति मात्रै देखापर्छ ? सामाजिक आक्रोशलाई सुविचारित विद्रोहमा मार्गनिर्देश गर्न सकिन्छ कि सकिन्न ? नागरिकमा निराशा जन्माउने दल र तिनका नेताहरूको औचित्य सकियो कि बाँकी नै छ ? यी र यस्तै प्रश्नको जवाफ आजको फायरसाइडमा खोज्नेछौं । प्रस्तुत छ राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालसँग कान्तिपुर टेलिभिजनका लागि पवन आचार्यले गरेको कुराकानी :