टफटकमा दुई नेता : सँगै ‘मास्टरी’ गरेका झलनाथ र चित्रबहादुरको नखुलेको रहस्य

माघ ११, २०७९
टफटकमा दुई नेता : सँगै ‘मास्टरी’ गरेका झलनाथ र चित्रबहादुरको नखुलेको रहस्य

तेस्रोपटक मुलुकको प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल कुनै समय गोरखा जिल्लाको आरुघाटस्थित भीमोदय माविका शिक्षक थिए । राष्ट्रपति विद्यादेवी भण्डारी पनि एक समय मोरङको बेलबारी १ नक्सलबारीस्थित जनता प्राविमा पढाउने काम गर्थिन् । अहिले देशको बागडोर सामुदायिक विद्यालयमा पढाउने पूर्वशिक्षक/शिक्षिकाको हातमा छ । सभामुख देवराज घिमिरे, पूर्वसभामुख कृष्णबहादुर महरा र अग्नि सापकोटा, कांग्रेस नेता कुलबहादुर गुरुङ र डा. रामशरण महत, यस्ता धेरै नाम छन्, जसले ‘मास्टर’ देखि मन्त्रीसम्मको यात्रा तय गरिसकेका छन् ।

सरकारी विद्यालयका शिक्षक/शिक्षिका राज्यका उच्च ओहोदामा पुग्न सफल त भए । मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति त भए । तर, देश हाँक्ने नेताहरू उत्पादन गर्ने ती विद्यालयको आजको अवस्था कस्तो छ ? बजारले मागेको दक्ष जनशक्ति आपूर्ति गर्न सामुदायिक विद्यालयहरू किन पछि परिरहेका छन् ? किन अहिले सबैको आकर्षण निजी विद्यालय तर्फ मात्र छ ? पढाउनेहरू सिंहदरबार छिर्ने, पढ्नेहरू चाहि अदक्ष कामदारका रुपमा खाडीतर्फ लाग्नुपर्ने विडम्बना किन ? शिक्षण पेशामा रहादा सामुदायिक विद्यालयको दु:ख देखेका नेताहरू नै किन शिक्षाप्रति संवेदनशील हुन नसकेका होलान् ?

इतिहासको रोचक संयोग । झण्डै ५० वर्षअघि एउटा दुर्गम गाउँको सानो विद्यालय पढाउने हेड सर र विज्ञानका शिक्षक दुवै जना यो मुलुकको कहलिएका राजनीतिक दलका उच्च अध्यक्ष मात्र नभई उपप्रधान तथा प्रधानमन्त्री भइसकेका छन् । उनीहरूले भोगेको राजनीति बाहेक जीवन र समयको त्यो पदचाप पनि उत्तिकै रोचक छ ।

बाग्लुङको एक विद्यालयका हेडसर तथा पूर्वउपप्रधानमन्त्री र अहिलेका सांसद चित्रबहादुर केसी अनि विज्ञान विषयका शिक्षक तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग कान्तिपुर टेलिभिजनको टफटकमा प्रधानसम्पादक दिलभुषण पाठकसँग अन्तरंग कुराकानीको सम्पादित अंश :

प्राय: एकजना अतिथिलाई निम्त्याइने टफटकमा मैले दुईजनालाई सँगै निम्त्याएको छु । प्रधानमन्त्री, उपप्रधानमन्त्री र पार्टीको केन्द्रीय अध्यक्षसमेत भइसक्नुभएका नेताहरूलाई म सुदूर विगतको ‘मास्टरी’ पेशातिर फर्काउन चाहन्छु । 

आजभन्दा ५० वर्ष पहिले २०२६ सालतिर ‍तपाईंहरू एउटै विद्यालयका प्रधानाध्यापक र शिक्षक हुनुहँदोरहेछ । प्रधानाध्यापक- चित्रबहादुर केसी । विज्ञान/गणितका शिक्षक- झलनाथ खनाल । पूर्व र पश्चिमका मान्छे, बागलुङको गलकोट हाईस्कुलमा कसरी पुग्नुभयो ?

केसी - त्यतिबेला शिक्षक नपाइने, मान्छेहरू पहाड-पर्वततिर शिक्षक भएर जानै नमान्ने । केही सुविधा थिएन । यातायातको सुविधा थिएन । अरू तलवहरूमा पनि सुविधा थिएन । सरकारले वास्ता गर्दैनथ्यो । असाध्यै नाम मात्रको सहयोग गर्ने । गरिब गुरुवा जनताबाट मुठ्ठीदान उठाएर दिन्थे । किसानको घरबाट एक-एक पाथी कोदो, धान, मकै के दिन सक्छन्, छोराछोरी पढाइदिए वापत दिन्थे । अलि धनीमानी मान्छे मुखिया, जिम्मावालले एकपाथी तिर्थे । दश-आठजना छोराछोरी भएका, खेतबारी नभएकाले पनि एकपाथी दिन्थे स्कुललाई । तर उसका छोराछोरी पढ्न जान नसक्ने । त्यस्तो व्यवस्था भएका बेलामा ती सुदूर गाउँमा कुन शिक्षक जान्छ ? उहाँ (खनाल) कसरी जानुभयो भने एउटा संगतको कारणले । मेरो मामाको छोरा प्रेमबहादुरसँग ।

केसीजीको घर र विद्यालय कति टाढा थियो ? तपाईं कसरी पुग्नुभयो स्कुल ?

मैले २००९ सालमा त्यही (गलकोट) स्कुलमा अक्षर चिनेको थिएँ । म मेरो घरबाट दुई घण्टा लगाएर जानुपर्थ्यो ।

विद्यार्थीले शुल्क नगदमा दिने चलन त थिएन होला ?

पहिलो त विद्यार्थी पाउनै मुस्किल थियो । शुल्क थिएन । सबैलाई एक-एक पाथी अन्न । पाथीले नापेर । विद्यार्थीले सके १/२ रुपैयाँ दिने बेग्लै कुरा हो ।

झलनाथ खनालज्यू तपाईं पूर्वको मान्छे कसरी पुग्नुभयो बाग्लुङ ?

खनाल : त्यो ०२५/०२६ सालको कुरा हो । त्यतिबेला म त्रिचन्द्र कलेजमा बीएस्सी पढ्दै थिएँ । आइएस्सीमा राम्रो नम्बर ल्याउँछु भनेको, तर त्यतिबेला ठूलो धाँधली गरियो । हामी विद्यार्थीमाथि रेट्ने काम गरियो । त्यसले गर्दा त्रिचन्द्र कलेजका जम्मा ३२९ विद्यार्थीमध्ये हामी चारजना मात्र पास भयौं । त्यतिबेला नराम्रोसँग रेटियो । यस्तो हुँदा म धेरै असन्तुष्ट भइसकेको थिएँ । मभित्र ठूलो आक्रोश पैदा भएको थियो, अब यो व्यवस्थाको विरुद्ध लड्छु भन्ने । तर पनि साथीहरुको सल्लाहले म बीएस्सीमा भर्ना भएँ । एक वर्षजति मैले पढें ।

तर, देशमा प्रजातन्त्र ल्याउने हो भने हामी गाउँ जानुपर्छ भन्ने पक्षमा हामी पुगिसकेका थियौं । म आफ्नो गाउँ जाने भनेर सोच्दै थिएँ । त्यसबेला मेरो साथी प्रेम केसी पनि हुनुहुन्थ्यो । उहाँ (चित्रबहादुर केसी) को मामाको छोरा । हामी सँगसँगै थियौं । उहाँसँग सल्लाह हुँदै जाँदा यस्तोखालको शिक्षकको आवश्यकता छ भन्ने कुरा गर्नुभयो । म एकपटक पश्चिम नेपाल घुमेर आउनुपर्‍यो भनेर पनि सोचिरहेको थिएँ । कम्युनिस्ट आन्दोलनको अवस्था के रहेछ, त्यो पनि बुझेर आउनुपर्‍यो भनेर सोचिरहेको थिएँ । त्यहीबेला मथुरा श्रेष्ठ भन्ने पनि आउनुभयो शिक्षक खोज्दै उहाँहरुले पठाउनुभएको रहेछ) । उहाँहरूसँग पनि कुरा भइसकेपछि लौ जानुपर्‍यो भन्ने भयो ।

केमा चढेर जानुभयो ? त्यसबेला काठमाडौंबाट बागलुङको गलकोट पुग्न कति दिन लाग्थ्यो ? केमा, कसरी यात्रा गर्नुपर्थ्यो ? कति पैसा लाग्थ्यो ?

खनाल : काठमाडौंबाट पोखरासम्म प्लेनमा नै गयौं । त्यतिबेला धेरै सस्तो थियो । सयभन्दा कमै थियो । अहिले ठ्याक्कै सम्झन सकिनँ ।

गाडीमा किन जानुभएन ?

खनाल : बाटोघाटो । अहिलेको जस्तो राजमार्ग बनिसकेको थिएन ।

यातायातको अरू विकल्प नहुँदा जहाज चढ्नुभएको हो ?

खनाल- हो । त्यहाँ पुगेपछि हिँड्नुपर्ने अवस्था थियो । पोखराबाट बागलुङ जान गोरेटो बाटो थियो । पोखराबाट हिँडिसकेपछि नाउडाँडालाई काट्दै दोबिल्ला पुगेर त्यहाँबाट हामी उकालो माथि लाग्यौं । बिहुँको उकालो भन्थे त्यसलाई । कालीनदी तरेर पहिला बाग्लुङ बजार पुग्यौं । बाग्लुङ बजारमा पुगेर एकदिन त्यहाँ बस्यौं । एकजना शेरचन भन्ने साथीकोमा बस्यौं । त्यतिबेला बाग्लुङ बजारमा दुई-तीनवटा होटेल थिए। त्यसमध्येका अलि राम्रो होटेल छ भनेर मथुराले भन्नुभयो र हामी त्यहाँ बस्यौं ।

भोलिपल्ट हामी त्यहाँबाट हिँड्यौं । त्यहाँबाट हामी दोबिल्ला भन्ने ठाउँसम्म पुग्यौं । त्यसपछि उकालो लाग्दो रहेछ, बिहुँको उकालो । तीन घण्टा लाग्दो रहेछ । तीन घण्टाको ठाडो उकालो । माथि घोडा बाँध्ने भन्ने ठाउँ रहेछ । घोडा बाँध्ने भन्ने ठाउँबाट उकालो सिद्धिएर गलकोटको गहिराइतर्फ जानुपर्ने रहेछ ।

हिँड्दै-हिँड्दै अलि तल पुगेपछि नरेखाँटी भन्ने ठाउँ आइपुग्यो । त्यसपछि हटिया भन्ने ठाउँ पुग्यौं । हटिया र दर्म भन्ने ठाउँको बीचमा स्कुल रहेछ । त्यो स्कुल पनि गारो-सारो केही छैन । चित्राले बारेर बनाएको स्कुल थियो । त्यही रहेछ, मैले पढाउनुपर्ने स्कुल । त्यहाँ पुगेपछि त स्कुलमै उहाँ (चित्रबहादुर) सँग भेट भयो ।

त्यो पहिलो भेट तपाईं सम्झनुहुन्छ ? झलनाथजी कसरी आउनुभयो ? कस्तो हुनुहुन्थ्यो ?

केसी : साइन्स पढाउने शिक्षक खोज्न मैले नै पठाएको हो मथुरा श्रेष्ठलाई । मेरो भाइ (प्रेम) सित त कुराकानी भइरहन्थ्यो । मथुरा श्रेष्ठलाई पनि ‘जा’ पहिला प्रेमलाई भेटेपछि प्रेमले बन्दोबस्त गर्न सक्छ भनें । प्रेमले पनि मलाई भन्याथ्यो- मेरै एकजना साथी हुनुहुन्छ, इलामतिरको, तपाईंहरूसँग कुरा नि मिल्छ । म पठाउँछु भन्यो । मैले हुन्छ भनें । त्यो कुरा भएपछि बल्ल मथुरालाई बाटो खर्च दिएर पठाएको ।

आउँदा उहाँ (खनाल) राम्रो हुनुहुन्थ्यो नि । अहिले त यस्तो झिल्के हुनुहुन्छ । आजभन्दा ५० वर्ष पहिले झन् कस्तो हुनुहुन्थ्यो होला ! उहाँको एउटा सबैभन्दा मलाई मन परेको कुरा के भने- असाध्यै सक्रिय । त्यतिबेला त पार्टी भूमिगत थियो । म त्यतिबेला जिल्ला पार्टीको सेक्रेटरी थिएँ । उहाँहरूलाई कहिल्यै थाहा भएन । उहाँलाई जहाँ खटाए पनि (उकालो, ओरालो), गाउँघर जहाँ भने पनि जानुहुन्थ्यो ।

त्यतिखेरको अवस्था चित्रण गरिदिनुस् न । २ घण्टा टाढा घर भए पनि तपाईं डेरा बस्नुहुन्थ्यो । होटेलमा खाना खानुहुन्थ्यो । डेरालाई कति पैसा तिर्नुहुन्थ्यो ? होटेलमा कति पैसामा खाना खानुहुन्थ्यो ?

केसी : खाना खाइदिएपछि डेरा भाडै तिर्नुपर्दैन थियो । खानाको पैसा लाग्ने, बस्ने नि:शुल्क हुन्थ्यो । त्यस्तो होटेलमा मैले चार वर्ष खाएँ । अहिले पनि मैले होटेलमै खान्छु, काठमाडौंमा मेरो आफ्नो भान्साघर छैन । अचम्म लाग्ला । त्यतिबेला के थियो भने, होटेल भनेर नाफाकै लागि भनेर चलाउने चलन थिएन । घरैमा खाएजस्तो हुन्थ्यो ।

झलनाथजी इलामको मान्छे । अलिकति हुनेखाने परिवारकै हुनुहुन्थ्यो होला । खर्च परिवारले नै धान्थ्यो वा विद्यालयको खर्चले पुग्थ्यो ? कति सजिलो थियो ? अनि घरमा, परिवारमा कसरी खबर/सूचना आदान-प्रदान गर्नुपर्ने हुन्थ्यो ?

खनाल : त्यतिबेला त के हो भने म बिएस्सी पढ्दै थिएँ । घरले अब हामी खर्च पठाउन सक्दैनौं भन्यो । त्यो भनेपछि मैले आफैं खोज्नुपर्ने स्थिति पनि थियो । त्यही क्रममा म उता (बाग्लुङ) गएँ । उता गइसकेपछि म त्यहाँ पुगेर मथुरा श्रेष्ठकै घरमा बसें । उहाँका बा-आमा हुनुहुन्थ्यो । बडो माया गर्नुहुन्थ्यो । उहाँका बा एकदम माछा मार्ने मान्छे । (चित्रबहादुरतिर देखाउँदै) उहाँ पनि माछा मार्ने मान्छे हो । कहिलेकाहीँ उहाँ घण्टौंसम्म पनि खोलामा माछा मारिरहनुहुन्थ्यो । सधैं खुवाउनुहुन्थ्यो माछा । दरमखोलाको माछा भनेको नेपालका राम्रा र मीठा मध्येको त्यहाँ पाइँदो रहेछ ।

त्यतिबेला त्यहाँका माछा राणाकालमा यहाँका राणाहरूले पनि ल्याएर खाँदा रहेछन् । त्यहाँ अलि विशेषखालको साना-साना दहमा पनि विशेषखाले असला माछा पाइने ।

त्यसबेला तपाईंहरूको खर्च कति हुन्थ्यो मासिक ? शिक्षकले तलब कति पाउँथे ?

खनाल : उहाँ (केसी) हरुले मलाई तलब दिँदा जम्मा अढाइ (२५०) सय रुपैयाँ दिएको हो । उहाँको कति थियो थाहा छैन ।

केसी : मेरो २ सय रुपैयाँ ।

खानाको कति तिर्नुपर्थ्यो ? महिनाको खर्च कति हुन्थ्यो ?

खनाल : तिर्नुपर्दैन थियो वास्तवमा । म मथुराकोमा बस्थें । उहाँहरूले नै खुवाउनुहुन्थ्यो ।

म के गर्थें भने स्कुलमा पढाइरहँदा खाली शिक्षक भएर, त्यो पेसा-व्यवसाय अपनाउने मात्र उद्देश्यले गएको थिइनँ । राजनीतिक उद्देश्य थियो मेरो दिमागमा । जाने वित्तिकै १५/२० दिनमा त स्ववियु बनाइहालें मैले । उहाँले पनि ओके गर्नुभयो । विद्यार्थीले आफ्ना गतिविधि गर्न थाले । विद्यार्थीमार्फत म कुनै पनि दिन आफ्नो डेरामा भन्दा कहाँ कुन गाउँ हुन्छ, त्यता डुलिरहेको हुन्थें ।

नुवाइधुवाई, सरसफाइका लागि पधेंरो कति टाढा थियो ? कि माछा मार्ने खोलैमा हो ?

खनाल : पानीका मुहानहरू थिए त्यतिबेला, विभिन्न ठाउँमा धारो बनाएको हुन्थ्यो । घरघरमा चाहिँ थिएन । तर, धारोमा जाने, त्यहीँ प्रयोग गर्ने । राम्रो र सफा पानी त्यतिबेला । नुहाइधुवाइ गर्नलाई सजिलै थियो ।

बिजुलीबत्ती थियो ? के बाल्नुहुन्थ्यो ?

खनाल-केसी : मट्टीतेल । टुकी, लालटेन बाल्थ्यौं । संगठन बनाउन रातिराति जानुपर्ने अवस्थामा इन्डियन टर्चलाइट बाल्थ्यौं ।

बिरामी पर्दा औषधिमूलो पाइन्थ्यो ?

हेल्थ कम्पाउन्डर थिए । औषधि उपचारको व्यवस्था त थियो ।

केसीजीलाई प्रश्न- अघि पनि भन्नुभएको थियो, झलनाथजी पूर्वको मान्छे, अग्लो, ह्यान्डसम, गोरो कस्तो हुनुहुन्थ्यो ? उहाँको अलिकति चित्रण गर्नुस् न ?

केसी : उहाँ यसै पनि राम्रो हुनुहुन्थ्यो । मलाई सबैभन्दा मनपरेको कुरा के भने संगठन गर्नका लागि जहाँ पठाए पनि मञ्जुर । ती विकट गाउँहरूमा एक-दुई विद्यार्थी पछि लगाएर जहाँ पनि जाने । त्यहाँ जानुभन्दा पहिले पार्टीको सांगठनिक अनुशासनमा जीवन बिताएको पाइँन मैले । विद्यार्थीबाटै जानुभएको हो ।

उहाँ जब जेल पर्नुभयो, जेल भित्रैबाट पनि उहाँको छुट्ने सन्दर्भमा हामीसँग अनुमति माग्नुभयो । मलाई जेलबाट छुट्ने सम्भावना छ, म छुटौं कि नछुटौं भनेर उहाँले अनुमति माग्नुभयो मलाई ।

असाध्यै मनपरे दुईवटा कुरा : एउटाचाहिँ विद्यार्थीलाई पढाउने साथसाथै राजनीतिक खुराक दिने । दोस्रो- किसानहरूको बीचमा जानपर्‍यो भने पहाडको ठाउँमा जहाँ पनि पुग्ने दिनरात नभनेर । रसिकको त कुरा मिलिहाल्थ्यो । सबभन्दा हाम्रो ध्यान त राजनीतिमै थियो नि । जनतालाई कसरी संगठित गराउने भनेर ।

(केसीलाई रोक्दै खनाल)- गीत-संगीत पनि गथ्र्यौं । गीतहरू बनाउने, सांस्कृतिक कार्यक्रमहरू गर्ने । हामीले त्यतिबेला गंगालालको चिता भन्ने नाटक मञ्चन गर्‍यौं, त्यही म गएकै साल । राम्रो कार्यक्रम भएको थियो । त्यसले त अलि जनचेतना बढाउने भयो नै । प्रशासनका मानिसले पनि निगरानी गर्ने नै भए हामीलाई । तर, हामीले जनचेतना बढाउने उद्देश्यले राम्रो कार्यक्रम गरेका थियौं ।

त्योबेलाको विद्यालय कस्तो थियो ? कुन संरचनामा थियो ? कतिवटा कोठा थिए ?

केसी : चित्राले बारेको, माथि छाप्रो । कोठा त छुट्टाछुट्टै थिए, भए पनि असाध्यै दु:ख काटेर पढाउनुपर्थ्यो ।

विद्यार्थी केमा बस्थे ? शिक्षक केमा पढाउँथे ।

केसी : विद्यार्थी बस्ने बेन्चहरू त थिए ।

खनाल : स्कुल यू आकारको (हातले संकेत देखाउँदै) थियो । एकतिरबाट जाने, अर्कोतिरबाट आउने गरी यू आकारको । उहाँ (केसी) को अफिस ठ्याक्कै ‘यू’ को बीचतिर थियो । अरु कोठाहरु थिए, बीचमा आँगन थियो, त्यसलाई आँगन भन्ने कि ग्राउन्ड भन्ने ? वरिपरि खेतहरु थिए । अलिकति जग्गा लिएर स्कुल चलाइएको थियो ।

केसी : दुईवटा बजारको बीचमा मिलाएर स्कुल चलाइएको हो । एकातिर हरिचौरले चलाउन खोज्ने, यता हटियाले चलाउन खोज्ने । त्यसमा उनीहरुको द्वन्द्व कहिल्यै नमिल्ने । प्रशासनसँग समेत सल्लाह गरेर दुईथरीलाई नै बीचमा मिलाउनका लागि बीचमा स्कुल खोलेको हो । त्यहीँबाट राजनीतिक गडबड सुरु भयो बाग्लुङको । पछि सरकारले थाहा पायो सबै ।

अनि तपाईंहरुलाई समात्यो प्रशासनले ? झलनाथजीलाई तपाईं राजनीतिक गर्नुहुन्छ भनेर प्रशासनलाई थाहा थियो ?

केसी : थाहा थियो ।

अञ्चलाधीशले तपाईंहरुलाई पक्राउ गर्न पुलिस पठाउँथे । तपाईंका विद्यार्थी र गाउँलेहरूले तपाईंहरुलाई बचाउँथे । तर, त्यो क्रम त सधैंभरि रहेन । एउटा विन्दुमा आएपछि झलनाथजीलाई पक्राउ गर्‍यो र तपाईं त्यो विद्यालयबाट छुट्टिन बाध्य हुनुभयो । त्यो सन्दर्भ अलिकति जोड्नुस् न छोटोमा ।

खनाल : म त्यहाँ पुगिसकेपछि अञ्चलाधीशले पटक-पटक चिठी पठाए । चिठी पठाए पनि मैले चिठी पनि लेखिनँ, जाँदा पनि गइनँ । त्यसपछि त्यो नाटक मञ्चन गर्‍यौं हामीले । त्यो नाटक मञ्चन गरेपछि हाम्रा विद्यार्थीहरुमा के शिक्षा मिलेछ भने यस्ता खालका काम गर्नुपर्ने रहेछ भन्ने भयो ।

प्रहरीमा उजुर परेपछि ती शिक्षक विद्यार्थीलाई गिरफ्तार गर्ने कुरा चल्यो । विद्यार्थीलाई यस्तो गराउने को त भन्दा हामी (खनाल-केसी) दुई जना । पछि हामीलाई पक्राउ गर्ने कुरा आइसकेपछि के गर्ने भनेर हामीले सल्लाह गर्‍यौं । सल्लाह के भयो भने, होइन अहिले पक्राउ नपर्ने बरु भूमिगत बसौं भन्ने भयो । २/३ महिना भूमिगत बस्यौं । विभिन्न गाउँहरुमा गयौं । जनतालाई बुझाउँदै गयौं ।

पछि धेरै साथीहरुसँग सल्लाह गरेर अहिले नै भूमिगत नभइहालौं । अब निस्कनुपर्छ भनेर म आफ्नो डेरामा गएँ । त्यही राति पुलिसले पूरै घेराउ गरे । भोलिपल्ट बिहान उठ्दाखेरि त टकटक आवाज आउँछ । अनि को आयो यति बिहानै भनेर ढोका खोलेको त इन्स्पेक्टर । पुलिस इन्स्पेक्टर ठ्याक्क पस्छन् माड्साब तपाईंलाई भेट्न आ’को भन्दै । म त राम्ररी कपडा पनि लगाइसकेको थिइनँ । मैले भनें- तपाईंहरु तल बस्नुस्, म कपडा लगाएर आउँछु भनें । तल गएको त थुप्रो पुलिस वरिपरि । त्यही क्रममा लामो समय त्यहाँ कुराकानी गरें ।

मैले उनलाई के भनेको थिएँ भने, स्कुलमा जाऔं, तपाईंले अब गिरफ्तार गर्ने हो भने यसरी तपाईंले पक्राउ पुर्जी लिएर आउनुभएको छ कि छैन ? त्यो ल्याएर आउनुभएको छ भने देखाउनुस् । देखाइसकेपछि मैले सोच्नपर्ने हुन्छ । तर स्कुलमै गएर लानुस् । स्कुलमा पुगेर म विद्यार्थी हाम्रो हेडसरहरु सबै शिक्षकहरुसँग बिदा माग्छु । त्यो बिदा मागेर जाउँला भनेको मान्दै मानेन । माथि ताराखोलातिरको बाटो, अर्थात् जंगलतिरबाट लाने कुरा गर्‍यो । अनि तपाईंले जंगलमा लगेर मलाई त्यहीँ समाप्त पारिदिनुभयो भने कल्ले थाहा पाउँछ ?

त्यतिखेर भय कति थियो ? जसरी माओवादीले जनयुद्ध भनेर चलाएका बेलामा कुनै गाउँलेलाई माओवादीले अथवा राज्यको सेना प्रहरीले माओवादी वा गाउँले कसैलाई लगे भने यिनले हत्या पो गर्छन् कि ? सिध्याउँछन् कि भन्ने जुन भय त्यतिखेर थियो ‍‍......

खनाल : थियो नि । केही भन्न सक्ने स्थिति नै थिएन । कसैलाई पनि बोल्ने हक-अधिकार थिएन । त्यतिबेला पत्रकारिता पनि अहिलेको जसरी चल्न दिइँदैनथ्यो । अनि स्कुलमा आएर सबै विद्यार्थी, शिक्षक, वरिपरिको मानिस पनि आए । एकखालको सभाजस्तै भयो । त्यहाँ मैले पनि बोलें । उहाँ (केसी) ले हेडसर भएको हुनाले बोल्नुभएन ।

केसी : होइन म त भूमिगत नै छु नि ।

खनाल : ए हो हो ।

आफ्नो विद्यालयमा ल्याएको शिक्षक पक्राउ परेपछि तपाईंलाई कस्तो लाग्यो ?

केसी : त्यतिबेलाको आतंक त डरलाग्दै थियो नि । राजाको गुणगान गाउने र पञ्चायतको गुणगान गाउनेबाहेक अरू तपाईं दायाँबायाँ केही गर्नै सक्नुहुन्न ।

तपाईंलाई त्यहाँबाट प्रहरीले गिरफ्तार गरेर लग्यो । तपाईंलाई पक्राउ गरेपछि अञ्चलाधीशले इलाममा बुबासँग कुराकानी फिर्ता गरे कि सीधै जेल हाले ?

खनाल : त्यसपछि मलाई लगेर बयान लग्यो र दुईवटा मुद्दा लगायो । एउटा संघ-संस्था ऐनअन्तर्गतको मुद्दा अर्को राजकाज मुद्दा । यो दुईवटा मुद्दा लगाएर मलाई जेलमा राख्यो । हामी पाँच-सातजना थियौं अरु पनि । जस्तो मथुरा पनि थिए । देवराज पन्तजी पनि हुनुहुन्थ्यो ।

कति महिना बस्नुभयो जेलमा ?

खनाल : म आठ महिना बसें ।

अनि तपाईं भूमिगत कतातिर हुनुहुन्थ्यो ?

केसी : मचाहिँ भूमिगत थिएँ । जुनसुकै गाउँमा पनि लुक्थें । गलकोट आधार इलाका नै थियो । गाउँमा पुलिसहरु एक्लैदुक्लै जाने आँटै गर्न सक्दैनथिए । हाम्रो (कम्युनिस्टको) त वर्चश्व थियो । कर्मचारीलाई सदरमुकाममा कारबाही गर्नुपर्‍यो, धम्की दिनुपर्‍यो भने गलकोट पठाइदिम् भन्थे रे त्यतिबेला । संगठनको बलमा म सुरक्षित नै थिएँ । एक वर्ष हो र, म त १९ वर्ष भूमिगत बसेको हो नि ।

एउटा विद्यालयको विज्ञानको शिक्षकलाई प्रहरीले समाएर जेल हालेपछि र हेडसर भूमिगत भएपछि विद्यालयको हालत के भयो ?

केसी : विद्यालयको हालत त बिग्रियो नि । तैपनि जेनतेन चल्यो चल्न त । हाम्रा विरुद्धमा अर्को पञ्चायती व्यवस्थालाई समर्थन गर्ने, राजाको जयजय गुणगान गाउने अरू शिक्षक ल्याइहाले नि ।

झलनाथजी, त्यति धेरै भाषण गरेर बिदावारी भएको मान्छे । पछि तपाईं प्रधानमन्त्री बनिसकेपछि त्यो विद्यालयले वार्षिकोत्सवमा तपाईंलाई बोलायो ?

खनाल : हो ।

केसी : हामी दुईजनालाई नि ।

तर तपाईं जानुभएन नि ?

खनाल : बोलाएको थियो । हामीले खुसीसाथ त्यो कार्यक्रम गर्ने पनि भनियो । हामीले योजना पनि बनाइरहेका थियौं । तर मौसम बिग्रियो । म हेलिकोप्टरमा गएँ ।

केसी : म पनि छु नि सँगै । एयरपोर्टमा चार घण्टा बस्यौं । स्कुलको वार्षिकोत्सवमा हजारौं मानिस जम्मा भएका छन् । दुईजनाका लागि सबै पर्खिएर बसे । चार घण्टा एयरपोर्टमा बस्दा हेलिकोप्टरले दुईपटकसम्म उडायो । सक्दिनँ भनेर फर्कायो ।

पछि पुग्नु भयो गलकोट ?

केसी- खनाल : पुग्न त पुगियो । धेरै पछि पुगियो ।

अहिले कसरी सम्झनुहुन्छ गलकोटवासीलाई ?

खनाल : त्यतिबेलाको अवस्थामा गलकोटका बासिन्दा जसरी हामीले नयाँ ढंगले जनजागरण अगाडि बढाउँदै थियौं । उहाँ (केसी) हरुले पार्टी नै गठन गर्नुभएको थियो । जसरी उहाँको पार्टीलाई त्यहाँको जनताले बचाए र पार्टीप्रति, जनजागरणप्रति त्यहाँको जनताको जुन समर्थन रह्यो, त्यो धेरै महत्त्वपूर्ण कुरा हो । नेपाली जनताको यही भावनाले गर्दा हामी डेमोक्रेसीमा छौं ।

गलकोटबाट छुटेपछि अर्को भेट कुर्न पञ्चायत नै ढल्नुपर्‍यो कि ? कति वर्षपछि, कहाँ कसरी पुनर्मिलन भयो ? सम्झिनुहुन्छ ?

केसी : धेरै समय लाग्यो । झन्डै २० वर्षपछि भेट भयो ।

खनाल : हामी त्यहाँबाट २०२६ सालमा छुट्यौं । म जेल परें । त्यो जेलको जेलै यता (पूर्व) ल्याइहाल्यो । उहाँहरु उतै रहनुभयो ।

केसी : अझ रमणीय खबर छ सुन्नुहोस्- उहाँ (खनाल) ले जेलबाट खबर पठाउनुभयो मलाई । मलाई छोड्नेजस्तो छ, के गरौं म जेलबाट निस्कन ? भनेपछि तपाईं अब निस्कनुपर्छ भनेर मैले समाचार पठाएपछि उहाँ निस्कनुभयो । म एउटा ठाउँमा, एउटा गरिब मान्छेको किसानको गोठमा बसेको थिएँ । उहाँले त्यतिबेला ११ बजे राति मलाई भेट्न आएर ठिङ्ग उभिएर हेरिरहनुभएको रहेछ । त्यो रात त्यहीँ बस्यौं । सबैभन्दा ठूलो घटना ।

ती महिला अझै पनि हुनुहुन्छ । मलाई त अलि फुर्सद पनि नाइँ । तर, ‘मैले कति गरेर लुकाएँ । ढिँडो खुवाएर बचाएँ । त्यस्तो बेलामा । कति वर्ष भयो, चित्रबहादुरको अनुहारै देख्दिनँ’ भनेर कराइरहन्छिन् भनेर मलाई खबर आउँछ । एकचोटि सायद असारतिर गएको बेला सबै काम छाडेर उनलाई त्यहाँ भेटेर आएँ । त्यो सम्झना मलाई अहिले पनि छ । उहाँ (खनाल) ले बिर्सनुभयो सायद ।

खनाल : हैन, सम्झिएँ मैले ।