भारतको गोवास्थित नाइट क्लबको आगलागीमा चार नेपालीको मृत्यु भएको पुष्टि

क्लबका महाप्रबन्धकसहित चार पक्राउ, दुई जना सञ्चालकविरुद्ध मुद्दा दायर
मंसिर २२, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भारतको गोवास्थित नाइट क्लबको आगलागीमा चार नेपालीको मृत्यु भएको पुष्टि

काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा शनिबार राति भएको आगलागीमा मृत्यु भएका २५ मध्ये चार जना नेपाली रहेको खुलेको छ ।

उत्तरी गोवाको अरपुरास्थित 'बिर्च वाइ रोमियो लेन' नाइट क्लबमा भएको आगलागीमा २० कर्मचारी र पाँच पर्यटकको मृत्यु भएको थियो । २० कर्मचारीमध्ये नेपालका चुर्णबहादुर पुन, विवेक कटवाल, सविन र सुदीप रहेको जनाइएको छ । मृत्यु हुने कर्मचारीमा दार्जिलिङका नेपालीभाषी सुवास क्षेत्री पनि छन् । 

यस्तै, पाँच पर्यटकमा चार जना दिल्लीका एकै परिवारका र एक जना कर्नाटकका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राज्य सरकारले मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख राहत घोषणा गरेको छ भने घाइतेहरूलाई ५० हजार सहयोग दिइने भएको छ ।

मुख्यमन्त्री प्रमोद सावन्तले मृतकमध्ये दुई जनाको जलेर र बाँकी २३ जनाको निस्सासिएर मृत्यु भएको बताउनुभएको छ । प्रहरीले आइतबार साँझसम्म क्लबका महाप्रबन्धकसहित चार जनालाई पक्राउ गरेको छ भने व्यवस्थापनका दुई जनाविरूद्ध मुद्दा दायर गरिएको छ । यस्तै, क्लबको स्वीकृति दिने कार्यमा संलग्न स्थानीय प्रशासनका तत्कालीन निर्देशकसहित तीन सरकारी अधिकारीलाई निलम्बन गरिएको छ ।