मेक्सिकोमा जेन-जीद्वारा सरकारविरोधी प्रदर्शनका क्रममा झडप, १२० जना घाइते, २० पक्राउ

विपक्षीले उक्साएको राष्ट्रपति शेनबाउमको आरोप
कार्तिक ३०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
 मेक्सिकोमा जेन-जीद्वारा सरकारविरोधी प्रदर्शनका क्रममा झडप, १२० जना घाइते, २० पक्राउ

काठमाडौं । मेक्सिकोमा जेन-जी युवा समूहहरूले निकालेको सरकारविरोधी प्रदर्शनमा झडप हुँदा कम्तिमा १ सय २० जना घाइते भएका छन् । 

घाइतेमध्ये एक सय जना प्रहरीहरू रहेको बीबीसीले जनाएको छ । हजारौं प्रदर्शनकारीहरूले शनिबार मेक्सिकोको राजधानीमा प्रदर्शन गरेका हुन् । उनीहरूले देशमा जारी भ्रस्टाचार, हत्या-हिंसा रोक्न नसकेको भन्दै राष्ट्रपति क्लाउडिया शेनबाउमको राजीनामा मागेका छन् ।

प्रदर्शनकारीहरूले राष्ट्रपति निवासको सुरक्षा पर्खाल भत्काएका छन् भने प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास पनि प्रहार गरेको छ । मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाज्क्वीजले लुटपाट तथा आक्रमण अभियोगमा २० जनालाई पक्राउ गरिएको जानकारी दिनुभएको छ । 

मेक्सिकोमा पछिल्लो समय हाइ–प्रोफाइल व्यक्तिहरूको हत्या भइरहेको छ । केही साताअघि मात्रै युरापानका मेयर कार्लोस मान्जोको हत्या भएको थियो । शेनबाउमले आफ्नो विपक्षमा रहेका दक्षिणपन्थी राजनीतिज्ञहरूले आन्दोलनकारीलाई उक्साएको आरोप लगाउनुभएको छ ।