बाढीले सर्लाहीस्थित हुलाकी सडक बगायाे, यातायात आवागमन पूर्ण रूपमा अवरूद्ध

आश्विन १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाढीले सर्लाहीस्थित हुलाकी सडक बगायाे, यातायात आवागमन पूर्ण रूपमा अवरूद्ध

सर्लाही । अविरल वर्षापछि आएको बाढीले सर्लाहीको कौडेना गाउँपालिका-२ र ३ स्थित हुलाकी सडक बगाएको छ । 

जसले यातायात आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ । यस्तै लखन्देही नदिले बांध भत्काउँदा कौडेना-७ शिवनगर गाउँ डुवानमा परेको छ । लगातारको वर्षाका कारण लखन्देही नदीमा आएको बाढीले कौडेनास्थित हुलाकी सडक बगाउँदा दक्षिण-पश्चिम क्षेत्रमा रहेको गोडैता, बलरा नगरपालिका सहित रामनगर, बसबरिया, धनकौल गाउँपालिकाको सदरमुकाम मलंगवासंगको सिधा सम्पर्क टुटेको छ । 

बाढीले करिब १५ मिटर पक्की हुलाकी सडक भत्काएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नदिले बांध भत्काउँदा शिवनगर गाउँ डुबानमा परेका छन् । लखन्देही नदिले बांध भत्काउन सुरू गरेपछि यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । 

स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । उहाँका अनुसार बलरा नगरपालिका-२ मा पनि सयौं घर डुबानमा परेका छन् । जिल्लाका अन्य प्रभावित बस्तीहरूमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लखन्दिही नदीमा आएको बाढीका कारण जिल्लामा अत्यधिक क्षति भएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र क्षतिग्रस्त क्षेत्रको तथ्यांक संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले प्रभावितलाई सुरक्षित स्थानमा सार्ने र अस्थायी राहत शिविर सञ्चालन गर्ने तयारी भैरहेको जानकारी दिनुभयो ।

भारी वर्षाका कारण जिल्लामा बिजुली अनियमित बनेको छ भने विभिन्न स्थानमा मोबाइल नेटवर्कले काम नगर्दा स्थानीय समस्यामा परेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.