युक्रेनको सीमाना जबरजस्ती परिवर्तन नगर्न युरोपेली नेताहरूको चेतावनी

श्रावण २७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
युक्रेनको सीमाना जबरजस्ती परिवर्तन नगर्न युरोपेली नेताहरूको चेतावनी

काठमाडौं । अमेरिका र रूसबीच अलास्कामा युक्रेनबारे शिखर वार्ता हुनु तीन दिनअघि युरोपेली नेताहरूले यूक्रेनको सीमाना जबरजस्ती परिवर्तन नगर्न चेतावनी दिएका छन् ।

२६ युरोपेली नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै यूक्रेनका जनताले आफ्नो भविष्य निर्धारण गर्ने स्वतन्त्रता पाउनुपर्ने उल्लेख गरेका हुन् । भौगोलिक अखण्डता सिद्धान्तको सम्मान हुनुपर्ने र अन्तर्राष्ट्रिय सीमानाहरू जबरजस्ती परिवर्तन हुन नहुने उनीहरूको भनाइ छ ।

शुक्रबार हुने वार्ताअघि अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले युक्रेन र रूसबीच भूमि साटासाटको सहमति हुन सक्ने बताउनुभएको थियो । जसअनुसार रूसले पूर्वी यूक्रेनको डोनबास क्षेत्र पूरै आफ्नो नियन्त्रणमा राख्न र क्रिमियालाई कायम राख्न सक्ने र यसको सट्टामा रूसले खेरसन र जापोरिज्जिया क्षेत्रहरू छोड्नसक्ने बताइएको छ ।

तर नाटो प्रमुख मार्क रुट्टेले गत साता केही यूक्रेनी भूभागहरू रूसको नियन्त्रणमा पुग्न सक्ने स्वीकार गर्दै यसलाई औपचारिक रूपमा मान्यता दिन नहुने बताउनुभएको थियो । युरोपेली नेताहरूले विज्ञप्तिमा यूक्रेनमाथि रूसी आक्रमणले युरोपेली र अन्तर्राष्ट्रिय सुरक्षामा व्यापक प्रभाव पारेको उल्लेख गर्दै न्यायपूर्ण र दीर्घकालीन शान्तिको आवश्यकतालाई जोड दिएका छन्। 

उनीहरूले किएभलाई सैन्य सहयोग जारी राख्ने वचन दिएका छन् । अलास्कामा ट्रम्प र रूसी समकक्षी भ्लादिमिर पुटीनबीच भेटवार्ता हुने बताइएको छ । युक्रेनले भने आफ्नो सहभागिताविना हुने कुनै पनि निर्णय मान्य नहुने बताउँदै आएको छ ।