युरोपेली मुलुकहरूको भनाइ– युक्रेनबिना रूससँग शान्ति वार्ता असम्भव

श्रावण २५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
युरोपेली मुलुकहरूको भनाइ– युक्रेनबिना रूससँग शान्ति वार्ता असम्भव

काठमाडौं । युरोपेली मुलुकहरूले पुनः एकपटक युक्रेनप्रति ऐक्यबद्धता जनाएका छन् । बेलायत, फ्रान्स, इटाली, जर्मनी, पोल्याण्ड, फिनल्यान्ड र युरोपियन आयोगले युक्रेनविना रूससँगको शान्ति वार्ता हुन नसक्ने भन्दै युक्रेनप्रति ऐक्यबद्धता जनाएका हुन् ।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा हुन लागेको भेटवार्ताको सन्दर्भमा युरोपेली मुलुकका नेताहरूको यस्ता भनाइ सार्वजनिक भएको हो । 

यसैबीच, ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई समेत समेटेर त्रिपक्षीय बैठक गर्न इच्छुक देखिएको जनाएको छ। तर अहिलेका लागि यो बैठक पुटिनको मागअनुसार ट्रम्प-पुटिनबीच मात्रै सीमित रहने जनाइएको छ ।

युक्रेनले भने आफूलाई समावेश नगरी गरिने कुनै पनि सहमति अप्रभावी निर्णय हुने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले सुरूमा रूसी राष्ट्रपति पुटिनसँग मात्र भेट गर्ने योजना बनाउनु भएको छ। तर पुटिन र जेलेन्स्कीबीच त्रिपक्षीय वार्ता गराउने प्रयास पनि भइरहेको उहाँको भनाइ छ । 

युक्रेनमाथि रूसी आक्रमण सुरू भएको तीन वर्षभन्दा बढी भइसक्दा पनि पुटिन र जेलेन्स्कीबीच अहिलेसम्म प्रत्यक्ष भेटवार्ता भएको छैन।