रूस-युक्रेन युद्ध रोक्न केही भूभाग साटासाटको सम्भावना रहेको ट्रम्पको भनाइ प्रति युक्रेनको आपत्ति

भूमिबारे कुनै पनि सम्झौता स्वीकार्य नहुने राष्ट्रपति जेलेन्स्कीको अडान
श्रावण २४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
रूस-युक्रेन युद्ध रोक्न केही भूभाग साटासाटको सम्भावना रहेको ट्रम्पको भनाइ प्रति युक्रेनको आपत्ति

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी अगस्ट १५ मा अलास्कामा भेटवार्ता हुने भएको छ। 

ट्रम्पले सामाजिक सञ्जालमार्फत् पुटिनसँगको भेटवार्ताबारे जानकारी दिनुभएको हो । उहाँले युक्रेन, रूस र अमेरिकाबीचको छलफलपछि युद्धविराम नजिक पुगेको दाबी गर्नुभएको छ ।

युद्धविरामका लागि केही भूभाग साटा-साट हुन सक्ने सम्भावना पनि ट्रम्पले औल्याउनुभएको छ । तर युक्रेनी राष्ट्रपति भोलोदिमिर ज़ेलेन्स्कीले ट्रम्पको प्रस्तावप्रति कडा आपत्ति जनाउनुभएको छ । 

शनिबार राष्ट्रका नाममा गरिएको सन्देशमा सम्बोधन जेलेन्स्कीले युक्रेनको संविधानअनुसार कुनै पनि भूभाग त्याग्न नपाइने प्रस्ट पारिएकाले युक्रेनी भूमिबारे कुनै पनि सम्झौता अस्वीकार्य भएको अडान राख्नुभएको छ । युक्रेनलाई बाहिर राखेर गरिने कुनै पनि निर्णय शान्तिका विरूद्ध ठहरिने उहाँको भनाइ छ ।

रूसले युक्रेनका लुहान्स्क, डोनेत्स्क, जापोरिज्झिया, खेरसोन र क्राइमिया रुसको हिस्सा भएको दाबी गर्दै आएको छ ।

ट्रम्प-पुटिन बैठकले युक्रेन-रूस युद्ध अन्त्यको सम्भावना देखाए पनि भूभागको सवालमा युक्रेनको कडा अडानले सहज सम्झौता कठिन देखिएको छ।