काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच यही अगष्ट १५ तारखिमा अलास्कामा भेटवार्ता हुने तय भएको छ ।
सन् २०१९ यता अमेरिकी र रूसी राष्ट्रपतिबीच हुन लागेको पहिलो प्रत्यक्ष भेटवार्ता अमेरकी भूमिमा हुने तय भएको हो । अमेरिकाले रूसलाई युक्रेनमा युद्धविराम गर्न दिएको समयसीमा शुक्रबार सकिँदा वार्ताको मिति सार्वजनिक भएको हो ।
यसअघि ट्रम्पले दुवै पक्षको हितमा हुनेगरी केही भूमि आदानप्रदान गर्नेगरी रूसलाई युद्वविराममा सहमत गराइने बताउनुभएको थियो । तर बीबीसीले भने युक्रेनले रूसलाई भूमि हस्तान्तरण गर्नुपर्ने गरी ह्वाइट हाउसले सम्झौता प्रस्तावको तयारी गरेको जनाएको छ ।
सन् २०१४ मा रूसले युक्रेको क्रिमिया क्षेत्र जबरजस्ती कब्जा गर्यो भने २०२२ मा युक्रेनमा पूर्णरूपमा आक्रमण सुरू गरेको हो ।
रूसले युक्रेन युद्धमा सफलता हासिल गर्न नसके पनि २० प्रतिशत युक्रेनी भू-भाग कब्जा गरेको छ । रूसलाई आफ्नो भूभाग दिनुपर्ने अमेरिकी प्रस्तावसहित अलास्कामा ट्रम्प र पुटिनबीच हुने भेटवार्ताबारे युक्रेनले आफ्नो धारणा सर्वजनिक गरिसकेको छैन ।