काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार वार्ता नहुने बताउनुभएको छ । पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उहाँले भारतसँग तत्काल व्यापार वार्ता नहुने प्रष्ट पार्नुभएको हो ।
भारतबाट अमेरिका भित्रिने सामानमा अमेरिकाले लगाइरहेको अतिरिक्त भन्सार महसुलका कारण भारत-अमेरिकाबीच तनाव बढेको हो । केही दिन अघि ट्रम्पले भारतमाथि २५ प्रतिशत अतिरिक्त महसुल कर लगाउनुभएको थियो ।
रूसबाट कच्चा तेल किन्न जारी राखेको जरिवानाको रूपमा यो महसुल लगाइएको थियो । यो महसुल लगाइसकेपछि, छूट दिइएका केही वस्तुहरूमा बाहेक अमेरिका भित्रिने भारतीय सामानहरूमा कुल कर ५० प्रतिशत हुनेछ ।
प्रारम्भिक महसुल लागू हुनुभन्दा १४ घण्टाअघि ट्रम्पले अतिरिक्त महसुल अर्थात् ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो । जुलाई ३० मा ट्रम्पले भारतीय सामानहरूमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको हो ।
यो महसुल अगस्ट ७ बाट लागू भएको छ । यसको २१ दिन पछि भने अतिरिक्त महसुल लागू हुनेछ । भारतले रूसबाट तेल किनेर युक्रेन भड्काउन मद्दत गरिरहेको ट्रम्पले बारम्बार आरोप लगाउँदै आउनु भएको छ ।