अमेरिकासँग कूटनीतिक दुरी बढेका बेला मोदी चीन जाने तयारीमा, साइडलाइनमा चिनियाँ राष्ट्रपति सीसँग भेटको सम्भावना

अगष्ट ३१ देखि हुने सांघाई को-अपरेशन बैठकको साइडलाइनमा चिनियाँ राष्ट्रपति सीसँग भेटको सम्भावना
श्रावण २२, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकासँग कूटनीतिक दुरी बढेका बेला मोदी चीन जाने तयारीमा, साइडलाइनमा चिनियाँ राष्ट्रपति सीसँग भेटको सम्भावना

काठमाडौं । कर वृद्धि तथा रूसी तेल खरिद विवादलाई लिएर अमेरिकासँग कूटनीतिक दूरी बढिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमणको तयारी थाल्नुभएको छ ।

यही अगष्ट ३१ देखि सेप्टेम्बर १ मा तियान्जिनमा हुने सांघाई को-अपरेशन अर्गनाइजेसनको बैठकमा सहभागी हुन मोदीको चीन भ्रमणको तयारी भइरहेको हो । बैठकको साइडलाइनमा मोदीको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने अनुमान गरिएको छ । 

अमेरिकाले भारतमाथि आयात कर दोब्बर पार्दै ५० प्रतिशत पुर्याएको छ। अगस्ट २७ देखि लागू हुने नयाँ दर भारतको रूसी तेल खरिदप्रति आपत्ति जनाउँदै ल्याइएको हो । 

यही विषयमा अमेरिकासँग दूरी बढिरहेका बेला मोदीको चीन भ्रमणको तयारी सुरू भएको हो । यद्यपि मोदीको भ्रमणबारे अहिलेसम्म निर्णय भइनसकेको भारतीय अधिकारीहरूले जनाएका छन् । 

भ्रमण तय भएमा मोदीको ७ वर्षपछिको चीन भ्रमण हुनेछ । यसअघि गत अक्टोबरमा ब्रिक्स सम्मेलनका क्रममा दुवै नेताबीच भेट भएको थियो । उक्त भेटवार्तापछि पूर्वी लद्दाखको तनाव अन्त्य भएको थियो । 

त्यसयता भारत र चीनबीच सम्बन्ध सुधारका प्रयासहरू भइरहेका छन् । मानसरोवर यात्रा पुनः सुरू गरिएको छ भने चिनियाँ पर्यटकहरूलाई भिसा दिन थालिएको छ । तर, गत मे महिनामा पाकिस्तानसँगको तनावका क्रममा चीनले पाकिस्तान सेनालाई सघाएको प्रमाण फेला परेको दाबी गरिएपछि सम्बन्ध सुधार प्रयासहरूमा असर परेको छ।