काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजापट्टी पूर्ण रूपमा कब्जा गर्ने घोषणाको तयारी गर्नुभएको छ ।
इजरायली सञ्चारमाध्यमलाई उद्धृत गर्दै अल-जजिराले जनाएअनुसार नेतन्याहूको योजनालाई युद्ध मन्त्रिपरिषद्ले अनुमोदन गर्नेछ । यो निर्णयसँगै इजरायली सेनाले बन्धक राखिएका स्थानसहित गाजाको सम्पूर्ण क्षेत्रमा सैन्य कारबाही विस्तार गर्नेछ।
नेतन्याहुको कार्यालयका एक उच्च अधिकारीले युद्ध बिस्तारको निर्णय भइसकेको उल्लेख गर्दै अहिले कदम नचालिए बाँकी बन्धकहरू भोकै मर्ने र गाजा पनि हमासकै नियन्त्रणमा रहने बताएका छन् । तर प्यालेस्टिनी विदेश मन्त्रालयले नेतन्याहुको योजनाको कडा निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल हस्तक्षेप गर्न आह्वान गरेको छ।
मंगलबार बोलाइएको युद्ध मन्त्रिपरिषद्को बैठकमा गाजा युद्धको आगामी चरणबारे छलफल गरिने जनाइएको छ । इजरायलमाथि गाजामा मानवीय सहायता प्रवा सहज बनाउन र युद्ध रोक्न अन्तर्राष्ट्रिय दबाब बढ्दो छ ।
यस्तै इजरायली आक्रमणबाट सहायताका लागि जम्मा भएका प्यालेस्टनी मारिने क्रम बढ्दो छ । सोमबार मात्र, गाजामा इजरायली आक्रमणबाट कम्तीमा ७४ प्यालेस्टिनी मारिएका छन् ।