काठमाडौं । इजरायलका अवकाशप्राप्त ६ सय सुरक्षा अधिकारीहरुले गाजामा भइरहेको युद्ध तत्काल अन्त्य गराउन इजरायलमाथि दबाब दिन अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पलाई आग्रह गरेका छन् ।
गुप्तचर निकायका पूर्वप्रमुखसहितका पूर्व सुरक्षा अधिकारीहरुले ट्रम्पलाई पत्र लेख्दै युद्ध अन्त्यका लागि दबाब दिन आग्रह गरेका हुन् ।
हमास अब इजरायलका लागि रणनीतिक खतरा नरहेको आफूहरुको मूल्यांकन रहेको उल्लेख गर्दै उनीहरुले युद्ध अन्त्य गर्न, बन्धक फर्काउन र पीडामा रहेकाहरुलाई राहत दिन ट्रम्पलाई आग्रह गरेका छन् । उनीहरुले सुरुमा युद्ध न्यायोचित तथा आत्मरक्षाका लागि भए पनि सबै सैन्य उद्देश्य प्राप्त भएपछि यो युद्ध अब न्यायोचित नरहेको उल्लेख छ ।
उनीहरूको यो आग्रह नेतन्याहूले गाजामा सैन्य कारबाही अझै विस्तार गर्न खोजिरहेको समाचारहरूसँगै आएको हो । हाल इजरालय र हमासबीचको अप्रत्यक्ष युद्धविराम वार्ता पनि अलपत्र परेको छ । गाजामा इजरायली आक्रमणका कारण ६० हजारभन्दा बढी प्यालेस्टीनीको मृत्यु भएको हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै युद्ध सुरु भएयता १ सय ८० बालबालिकाले कुपोषणका कारण मृत्युवरण गरिसकेका छन्।