काठमाडौं । रूसको ब्ल्याक सीको किनारमा अवस्थित सोची सहर नजिकैको एक ठूलो तेल डिपोमा भीषण आगलागी भएको छ ।
युक्रेनी ड्रोन आक्रमणका कारण भएको आशंका गरिएको उक्त आगलागीका कारण सोची विमानस्थलको उडान सेवा अस्थायी रूपमा स्थगित गरिएको छ।
रुसी अधिकारीहरूले ड्रोनको टुक्रा इन्धन ट्यांकीमा खस्दा आगलागी भएको र नियन्त्रणका लागि एक सयभन्दा बढी दमकलकर्मी परिचालन गरिएको जनाएका छन् । त्यस्तै, युक्रेनको दक्षिणी सहर मायकोलाइभमा रुसी क्षेप्यास्त्र आक्रमण हुँदा नागरिक पूर्वाधारहरू ध्वस्त भएका छन् भने कम्तीमा सात जना सर्वसाधारण घाइते भएका छन् ।
यस्तै रूसका अन्य सहरहरू रियाजन, पेन्जा र भोरोनेझमा पनि ड्रोन हमलाहरू भएका छन्। भोरोनेझमा चार जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रूसको रक्षा मन्त्रालयले ब्ल्याक सी क्षेत्रमाथि ६० वटा ड्रोनसहित कुल ९३ युक्रेनी ड्रोनहरू नष्ट गरिएको दाबी गरिएको छ। यता, युक्रेनी वायु सेनाले कम्तीमा ७६ ड्रोन र सात मिसाइल प्रहार गरिएको जानकारी दिएको छ ।
यसअघि बिहीबार युक्रेनको किएभमा भएको रुसी आक्रमणमा कम्तीमा ३१ जनाको ज्यान गएको थियो।