काठमाडौं । रूसका पूर्वराष्ट्रपति तथा हाल सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभका हालैका कडा अभिव्यक्तिपछि अमेरिका-रूस सम्बन्ध थप तनावग्रस्त बनेको छ। यो घटनाक्रमसँगै अमेरिकाले दुईवटा आणविक पनडुब्बीहरू रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा तैनाथ गरेको छ।
यद्यपि, पनडुब्बीहरू राखिएको स्थान र प्रकृतिबारे अमेरिकाले औपचारिक विवरण सार्वजनिक गरेको छैन । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले रूसलाई युक्रेन युद्ध तत्काल रोक्न चेतावनी दिएको र त्यसको जवाफमा मेदभेदेभले दिएको प्रतिक्रियाले स्थितिलाई जटिल बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दुई नेताबीच सामाजिक सञ्जालमा आक्रोशपूर्ण अभिव्यक्तिहरूको आदानप्रदान भइरहेको छ । जसले अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा समेत चासो बढाएको छ।
पनडुब्बीहरू आणविक हतियारसहित छन् वा केवल आणविक उर्जामा चल्ने खालका हुन् भन्ने विषयमा स्पष्ट जानकारी दिइएको छैन। तर तैनाथीको निर्णय अमेरिकी जनताको सुरक्षाका हिसाबले लिइएको ट्रम्प प्रशासनले जनाएको छ ।
यस कदमपछि मस्कोको सेयर बजारमा तीव्र गिरावट देखिएको छ भने क्रेमलिनले औपचारिक प्रतिक्रिया दिइसकेको छैन। यो सबै घटनाक्रम अमेरिकी पक्षबाट रुसलाई आगामी अगस्ट ८ सम्म युक्रेन युद्ध अन्त्य गर्न दिइएको समयसीमाको सन्दर्भमा आएको हो। तर उक्त मिति नजिकिँदै जाँदा पनि रूसी नेतृत्वले स्पष्ट लचकता देखाएको छैन । जसले अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढाएको छ।