काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले कमजोर रोजगारी वृद्धिको तथ्याङ्क सार्वजनिक भएपछि श्रम तथ्याङ्क आयोगकी प्रमुख एरिका म्याकएन्टारफरलाई बर्खास्त गर्नुभएको छ ।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै, आफ्नो टोलीलाई बाइडेनले नियुक्त गरेका राजनीतिक अधिकारीलाई तुरून्त हटाउन निर्देशन दिएको उल्लेख गर्नुभएको छ । त्यस लगत्तै म्याकएन्टारफर बर्खास्त हुनुभएको हो ।
सार्वजनिक तथ्यांकअनुसार मे, जुन र जुलाई महिनामा रोजगारी वृद्धिको दर अघिल्ला अनुमानभन्दा धेरै कम भएको देखिएको छ । जुन अमेरिकी अर्थतन्त्रका लागि चिन्ताजनक मानिएको छ।
ट्रम्पले प्रमाण नदेखाई म्याकएन्टारफरमाथि रोजगारीका तथ्याङ्कलाई चुनावअघि हेरफेर गरेर उपराष्ट्रपति कमला ह्यारिसको जित सम्भावना बढाउने प्रयास गरेको आरोप पनि लगाउनुभएको छ ।
उहाँले निष्पक्ष र सत्य तथ्याङ्क अत्यावश्यक रहेको प्रष्ट पार्दै राजनीतिक लाभका लागि तथ्याङ्क हेरफेर गर्नु नहुने बताउनुभएको छ ।