छाउपडी प्रथाविरूद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन

श्रावण ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
छाउपडी प्रथाविरूद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक कूरीतिविरूद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेशभित्रका सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

शनिबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले केही दिनअघि कञ्चनपुरको कृष्णपुर नगरपालिका-१, निगालीमा छाउगोठमा सुतेको अवस्थामा सर्पदंशबाट एक जना महिलाको मृत्यु भएको घटनासमेतको गाम्भीर्यतालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको मुख्यमन्त्री मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले छाउगोठको उन्मूलन र समाजमा देखिएका सामाजिक विभेद एवं छुवाछुतयुक्त व्यवहारको नियमनलाई थप प्रभावकारी ढङ्गले अगाडि बढाउने भएको छ । 

छाउपडी प्रथाजन्य कूरीति उन्मूलन नीति, २०७६ तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गर्न प्रदेश, जिल्लास्तरीय र स्थानीय तहस्तरीय समितिले नियमित बैठक गर्ने र नियमित रूपमा आ-आफ्नो कार्यक्षेत्रमा अनुगमन गरी सक्रियता बढाउने निर्णय गरिएको छ ।

साथै, सामाजिक विकास मन्त्रालयमार्फत विद्यालय, समुदाय र धार्मिक सङ्घसंस्था लक्षित प्रदेशस्तरीय वार्षिक कार्ययोजना बनाई छाउपडी प्रथाजन्य कूरीति तथा जातीय विभेदविरुद्ध जनचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.