काठमाडौं । टर्कीका लागि अमेरिकी राजदूत तथा सिरियाका लागि विशेष दूत टम ब्यारेकले सिरिया र इजरायलबीच युद्धविराम सहमति भएको बताउनुभएको छ।
उहाँकाअनुसार उक्त सम्झौतालाई टर्की, जोर्डन र अन्य छिमेकी मुलुकहरूले स्वागत गरेका छन्। यद्यपि, यो सहमतिबारे हालसम्म न त इजरायल न त सिरियाली अधिकारीहरूले नै कुनै आधिकारिक टिप्पणी गरेका छन्।
बुधबार इजरायली वायुसेनाले सिरियामा हवाई आक्रमण गरेपछि यो युद्धविरामको खबर आएको हो। इजरायलले उक्त आक्रमण ड्रुज समुदायको सुरक्षा गर्नुपर्ने भन्दै गरेको बताएको थियो। ड्रुज अरब धार्मिक अल्पसंख्यक समुदाय हुन्।
बशर अल-असदको पतनपछि ड्रुज र सरकार समर्थित सुरक्षाफौजबीचको झडपमा सिरियामा धेरैको ज्यान गइसकेको छ। त्यसैबीच, सिरियाको अशान्त दक्षिणी प्रान्त सुवैदामा ड्रुज र बेडुइन जातीय समूहबीच फेरि तनाव चर्किएको छ।
इजरायलसँगको युद्धविरामको खबर आउन केही घण्टा अघिमात्र सुवैदामा फेरि भीषण झडप सुरू भएको थियो।