काठमाडौं । आज असार १५ गते, "धान बालीमा सघनता खाद्य सुरक्षा र आत्मनिर्भरता" भन्ने नाराका साथ २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ ।
सरकारले २०६१ सालदेखि असार १५ गतेलाई धान दिवसका रुपमा मनाउँदै आएको छ । किसान तथा किसानसँग सम्बन्धित संघ संस्थाहरुले पनि यो दिवसलाई उत्साहका साथ मनाउँदै छन् । वार्षिक दिवस मनाइरहँदा मुलुक धानमा भने आत्मनिर्भर हुन सकेको छैन । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अझै पनि १० लाख टन धान अपुग छ । दुई वर्षभित्र धानमा आत्मनिर्भर हुने गरी कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ ।
यसको अलवा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत सञ्चालित धानका २१ जोन र ५ सुपरजोनमार्फत् बर्खे र चैते दुवै सिजनमा धानको सम्पूर्ण मूल्य ऋृङ्खला विकासमा कार्यक्रम सञ्चालन हुँदैछ । सरकारले नार्कले विकास गरेका उन्नत जातका धानको बीऊ किसानसमक्ष पुर्याउन र रासायनिक मलको समानुपातिक वितरण गर्ने पनि बताएको छ ।
यसैबीच, आधा असार बित्दा १६ प्रतिशत हाराहारी मात्र रोपाइँ भएको छ । सरकारले १३ असारसम्म १५ दशमलव ६ प्रतिशत मात्र रोपाइँ भएको आकडा सार्वजनिक गरेको हो । मधेश प्रदेशमा तीन दशमलव ९ प्रतिशत मात्र रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । लुम्बिनीमा ९ दशमलव ७, गण्डकीमा १३ दशमलव ८, कोशीमा १४ दशमलव तीन, बागमतीमा २० दशमलव ५ प्रतिशत रोपाइँ भएको छ । यस्तै कर्णालीमा ३९ प्रतिशत र सुदूरपश्चिममा ४५ दशमलव ५ प्रतिशत रोपाइँ भएको छ ।
आजै दहिचिउरा खाने चलन पनि छ ।